इटहरी/ नेपाली फिल्म क्षेत्रमा लामो समयपछि पुनः सक्रिय बन्दै गइरहेकी नायिका निरुता सिंह आइतबार राति मुम्बईबाट नेपाल आइपुगेकी छन् । उनी निर्देशक सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न नेपाल आएकी हुन् । नेपाल आइपुग्नेबित्तिकै पत्रकारहरूसँग कुरा गर्दै निरुताले आफू अब निरन्तर नेपाली फिल्ममा सक्रिय हुने प्रतिबद्धता जनाइन् ।
उनले भनिन् “अब म कहीँ पनि जादिनँ, निरन्तर नेपाली फिल्ममै काम गर्छु । बिचमा मलाई कोरोना भयो, त्यसैले काम गर्न पाइनँ । अब भने म कहीँ पनि जान्नँ ।” उनले आफूसँग आएका केही अफरहरू विभिन्न कारणले असफल भएको भए पनि नेपाली फिल्मबाट टाढा बस्न नसक्ने प्रष्ट पारिन् । फिल्म ‘३६ को आँकडा’ मा निरुताको भूमिकाबारे हाल खुलाइएको छैन । निर्देशक श्रेष्ठले भूमिका अहिले नै खुलाउन नसक्ने बताए ।
तर उनले भने “मैले सहायक निर्देशक हुँदा निरुता दिदीसँग काम गरेको थिएँ । तर निर्देशक भएपछि भने साथमा काम गर्ने अवसर पाइँदैनथ्यो । यो फिल्ममा विशेष रुपमा उहाँ नै आवश्यक पर्ने भूमिका भएकाले उहाँलाई आग्रह गरिएको हो ।” फिल्ममा निरुतासँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । विशेष कुरा के छ भने, नायिका रेखा थापा र निरुता सिंहले ‘दुई पल’ पछि पहिलोपटक यसै फिल्ममा एकसाथ पर्दा शेयर गर्न लागेका छन् । निरुताले फिल्म ‘दाल भात तरकारी’ पछि कुनै पनि नयाँ फिल्ममा काम गरेकी थिइनन् । अब भने उनी ‘३६ को आँकडा’ मार्फत पुनः अभिनय यात्रामा फर्किन तयार भएकी छिन् ।
@parikalanewsofficial















Discussion about this post