इटहरी/ अभिनेत्री रेखा थापा र पूजा शर्माको टक्कर देखिने फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । रेखाको होम प्रोडक्सनमा निर्माण हुन लागेको यस फिल्मले सुरुवाती झलकमै दर्शकको ध्यान तानेको छ । सार्वजनीक पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएकी दृश्य समावेश गरिएको छ ।
रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको आत्मविश्वास झल्किन्छ भने पूजाको अनुहारमा अझै टक्कर बाँकी रहेको संकेत देखिन्छ । दुई महिला पात्रबीचको प्रत्यक्ष द्वन्द्वलाई केन्द्रमा राखिएको यो नेपाली फिल्ममा केही फरक कथा भनिन लागेको बुझ्न सकिन्छ । सम्भवतः पहिलो पटक महिला पात्रबीचको यस्तो सशक्त टकरावलाई कथाको केन्द्रमा राखिएको हो ।

नेपाली फिल्ममा फरक पहिचान बनाएर आफूलाई ‘लिडिङ लेडी’का रूपमा स्थापित गरेका यी दुई अभिनेत्रीको पर्दामा हुने भिडन्त दर्शकका लागि विशेष आकर्षण बन्ने अनुमान गरिएको छ । फ्लोरमा जानु अघिनै सार्वजनिक गरिएको यस पोस्टरले फिल्मप्रेमीमा उत्सुकता थप्ने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial
सबिर श्रेष्ठको निर्देशनमा बन्ने फिल्म आगामी सोमबारदेखि फ्लोरमा प्रवेश गर्नेछ । हाल पोस्टरमा रेखा र पूजाबाहेक अन्य कलाकार वा प्राविधिकबारे केही खुलाइएको छैन । निर्माण पक्षले सुटिङपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।
फिल्ममा रेखा थापासँग पछिल्लो समय चर्चित अभिनेता महेश त्रिपाठीको जोडी बाँधिनेछ भने पूजासँग लोकप्रिय अभिनेता पुष्प खड्काले स्क्रिन सेयर गर्नेछन् ।














Discussion about this post