इटहरी/ कोशी प्रदेशको टीम र यहीको श्रोत साधनले निर्माण गरिएको फिल्म सापितको इटहरीमा पहिलो प्रीमियर सम्पन्न भएको छ । यो फिल्म कोशी प्रदेशमा बनिरहेका जातीय सांस्कृतिक तथा भाषाभाषीका फिल्म भन्दा केही फरक धारमा रहेर निर्माण गरिएको हो । लेखक तथा निर्देशक रूपक राईका अनुसार यो हरर थ्रीलर फिल्म हो ।
श्रीकृष्ण जन्माष्टमीको विशेष अवसर पारेर इटहरीको किराँत राई यायोक्खाको भवनमा शनिवार गरिएको पहिलो शोमा प्रमुख अतिथि नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधान थिए । धरान, इटहरी लगायतका चलचित्रकर्मीहरुको पनि प्रिमियरमा उपस्थिति थियो । उपस्थित दर्शकले फिल्म हेरेपछि राम्रो भएको प्रतिक्रिया दिए ।

फिल्मका लेखक तथा निर्देशक राईले अब सापितको नेपाल बाहिर प्रिमियरको तयारी भइरहेको जानकारी गराए । सापितको यही मंगलबार ट्रेलर पनि सार्वजनिक गरिएको छ । फिल्ममा अधिकांश नयाँ कलाकारहरु रहेका छन् । फिल्मको मुख्य भूमिकामा भारतीय मूलका नेपाली कलाकार सुकचन्द्र थापा, सन्जना त्री खत्री र जियोन तामाङ छन् ।
@parikalanewsofficial
यस्तै नेपालबाट उदय सुब्बा कुरुङ्ग्बाङ, विजय सन्यक सुब्बा, हेम दिलुङ्छा राई, मदन राई, दिनेश कोइराला, मिलन तामाङ, सुरेन्द्र भुजेल, सुरज भुजेल, इक्सा गुरुङ, जुनु बुढाथोकी, कैलाश बि.क लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

केराबारी-५ राजारानी, इटहरी, संखुवासभाको खादवारी लगायतका विभिन्न स्थानमा सुटिङ सम्पन्न भएको यस फिल्मको निर्माण सागर लिम्बू (लोकेन) ले गरेका हुन् भने कार्यकारी निर्माता उदय कुमार सुब्बा हुन् । सहायक निर्देशक मिलन तामाङ रहेका छन् भने प्रकाश सुब्बा र देवराज सिग्देलले यो फिल्म छायांकन गरेका हुन् । सापितलाई सम्पादन र कलर हेमन तामाङले गरेका छन् । फिल्मको पोस्ट प्रोडक्सन कोशी भिजन प्रा. लि. मार्फत गरिएको हो ।















Discussion about this post