इटहरी/ देश, बलिदान र विद्रोहको भावनाले ओतप्रोत कथा बोल्ने बहुप्रतीक्षित नेपाली फिल्म ‘बलिदान’को टिजर सार्वजनिक भएको छ । सन्तोष सेनले निर्देशन गरेको फिल्मको यो टिजरले दर्शकलाई देशभक्ति र न्यायको उत्कट खोजतर्फ तान्ने प्रयास गरेको छ । टिजरको सुरुवातमै देशको एक भाग शत्रुको निशानामा परेको उद्घोष सुनिन्छ ।
त्यहीबेला अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानमा उभिएको दृश्य देखिन्छ, जसले विद्रोह र प्रतिरोधको प्रतीकात्मक संकेत दिन्छ । यसपछि हेमन्त बुढाथोकीको शक्तिशाली स्वर गुन्जिन्छ । कालीमाताको चरणमा रगत चढाउँदै दिएको बलिदानबारे उनले व्यक्त गरेको भावनाले टिजरलाई गहिराइ दिन्छ । उनी राजसी भेषमा देखिन्छन् भने अर्पण थापालाई एक सशक्त नेताको रूपमा प्रस्तुत गरिएको छ । हेर्नुस् टिजर ।
भावनात्मक संवाद बोकेकी ऋचा शर्माको उपस्थितिले टिजरमा थप रंग भर्छ । त्यसपछि ‘एक्सन किङ’ को परिचयमा आएका समिर भट्टले बोलेको संवाद “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ । यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ”- सँगै उनले प्रहार गरेको शक्तिशाली एक्सन दृश्य टिजरको प्रमुख केन्द्र बनेको छ ।
आगामी असोज १३ गते अर्थात दशैँको फूलपातीदेखि सार्वजनीक प्रदर्शनमा आउने फिल्म ‘आसुसेन फिल्म्स प्रा. लि.’ को ब्यानरमा निर्माण भएको हो । यस फिल्ममा समिर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, प्रज्वल दुलाललगायत कलाकारको दमदार अभिनय रहेको छ । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यसअघि समीर भट्ट को जन्मदिनको अवसरमा प्रि-टिजर सार्वजनीक गरिएको थियो, त्यसले आम दर्शकको ध्यान बलिदान तर्फ केन्द्रित गर्न थप बल पुगेको थियो ।
@parikalanewsofficial














Discussion about this post