इटहरी/ यही आउँदो भदौ १३ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ले लैंगिक अल्पसंख्यक समुदायको दबिएको आवाज पर्दामा ल्याउने प्रयास गरेको छ । निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार यो फिल्म ट्रान्सवुमनको जीवनयात्रा र संघर्षलाई केन्द्रमा राखेर बनेको हो, जसमा मुख्य भूमिका नाजिर हुसेनले निर्वाह गरेका छन् ।
समाजमा अझै पनि खुला रूपमा पहिचान प्रकट गर्न नसक्ने अवस्था भएका तेस्रोलिंगीको वेदनालाई यसले यथार्थ ढंगले उतारेको छ । सार्वजनीक ट्रेलरमा एक छोरा महिलाको स्वभाव लिएर बाँच्न चाहन्छ । चुरा, गाजल र सारीचोलोमा आफ्नो पहिचान देख्छ, तर बुबाबाट लाउरे बन्ने दबाब र दैनिक मानसिक यातना भोग्छ । बुबाआमा, साथी र छिमेकीको हेय दृष्टिकोणबीच ऊ आफ्नो वास्तविक अस्तित्व खोज्दैछ ।
ट्रेलर सार्वजनिक भएपछि दर्शकबाट आएको सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ । मुख्य अभिनेता नाजिर हुसेनले यो फिल्मलाई आफ्नो करिअरको नयाँ मोड बताउँदै ‘होस्टेल’पछि दर्शकमाझ नयाँ रूपमा चिनाउने अवसरका रूपमा लिएका छन् । फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।
@parikalanewsofficial
नेपालकै पहिलो पूर्ण ट्रान्स-स्टोरी फिल्म मानिएको ‘गुन्यु चोलो : द ड्रेस’को अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले खरिद गरेको छ । सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य हलिउड शैलीमा विदेशमै सम्पन्न गरिएको यसमा लिजा जेरार्डको स्वर र मार्सेलो दी फ्रान्सिसीको ब्याकग्राउन्ड म्युजिक समावेश छ ।
नेपाली र हलिउड प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको फिल्ममा आकाश बुढाथोकी र भि-भन्से जानुबोनले लगानी गरेका छन् भने कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन रहेका छन् । आलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीको गीत रचना समावेश छ । ‘गुन्यु चोलो : द ड्रेस’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा समेत छनोट भइसकेको छ ।














Discussion about this post