इटहरी/ अलटाइम ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चाको शिखरमा पुगेका अभिनेता विजय बराल पुनः मुख्य भूमिकामा देखिन लागेका छन् । उनको नयाँ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आउँदो भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको जीवनकथा मार्मिक ढङ्गले उतारेका विजयले त्यसपछि पहिलोपटक मुख्य पात्रको रूपमा यो फिल्ममा अभिनय गरेका छन् ।
अघिल्लो फिल्मले नेपाल भित्र र बाहिर गरी करिब पौने अर्बको व्यवसाय गर्दै नेपाली बक्स अफिसको नयाँ रेकर्ड कायम गरेको थियो । त्यसैले दर्शकबीच यो नयाँ फिल्मले पनि त्यस्तै प्रभाव पार्ने हो कि भन्ने उत्सुकता छ । निर्देशक हिमाल न्यौपानेका अनुसार ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ गाउँले परिवेशमा आधारित, परिवारका सदस्यबीचको भावनात्मक सम्बन्ध र गरिबीको कथा हो । विजयले पनि अघिल्लो फिल्मझैँ यसलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् ।
पेपरक्लिपको ब्यानरमा बनेको यस फिल्ममा विजय बरालसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारहरूको अभिनय छ । निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
@parikalanewsofficial
असोसिएट निर्देशकको रुपमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत रहेका छन् । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको छ । नवीन गुरुङ डीओपी र कृष्ण परियार सिनेमेटोग्राफरका रूपमा छन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्न लागेको यो फिल्म यस वर्ष विजय बरालको मुख्य भूमिकामा आएको पहिलो प्रोजेक्ट हो, जसले दर्शकको उच्च अपेक्षा छ ।














Discussion about this post