इटहरी/ आउँदो भदौ ६ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर जनै पूर्णिमाको दिन काठमाडौंमा विशेष समारोह गर्दै सार्वजनिक गरिएको छ । निर्देशक हिमाल न्यौपानेको निर्देशनमा बनेको यो फिल्मले आर्थिक अभाव, परदेश जाने सपना र त्यसमा आउने चुनौतीहरूको भावनात्मक कथा प्रस्तुत गर्छ । ट्रेलरमा विजय बरालको पात्र बाउको ऋण तिर्न कोरिया जाने निर्णयसँगै सुरु भएको संघर्ष देखाइएको छ ।
तर, यात्रा बीचमै काठमाडौंमा अड्किँदा उनी ठगी, बन्धक र अनेक कठिनाइमा फस्छन् । सपनामा देखेको पक्की घर बुबालाई उपहार दिने रहरका बीच, मिरुना मगरसँगको प्रेम, दिदी केकी अधिकारीको पारिवारिक पीडा र निम्नमध्यम वर्गीय जीवनका संवेदनशील प्रसंगहरू प्रस्तुत छन् । यसअघि ‘प्रेमगीत ३’ मा अभिनय गरेका मनिष राउत यसपटक असोसियट निर्देशकको रूपमा यो फिल्ममा देखिँदैछन् । हेर्नुस् ट्रेलर ।
यो फिल्ममा मिरुना मगर, विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ । पेपरक्लिपको ब्यानरमा निर्मित यो फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् ।
यो फिल्मका गीतहरूमा संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले भरेका छन् । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको फिल्मको छायांकन नवीन गुरुङ र कृष्ण परियारले गरेका छन् । काफिया फिल्मसका गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् । ‘पूर्णबहादुरको सारंगी’ जस्तो अलटाइम ब्लकबस्टरपछि विजय बरालको मुख्य भूमिकामा आएको यो वर्षको पहिलो फिल्म भएकाले दर्शकमाझ यसको प्रतीक्षा उच्च छ ।
@parikalanewsofficial














Discussion about this post