इटहरी/ दशैँको फूलपाती अर्थात् असोज १३ देखि प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ले आफ्नो नयाँ पोष्टर सार्वजनिक गर्दै प्रचार अभियानलाई तीव्र बनाएको छ । सार्वजनिक गरिएको पोष्टरमा फिल्मका तीन प्रमुख कलाकारहरु हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।
पोस्टरमा हरिवंश आचार्य आफ्नै चर्चित चरित्र ‘हरिबहादुर’को शैलीमा देखिएका छन्, जसले दर्शकलाई हास्यरसको आभास गराउँछ । त्यस्तै, प्रकाश सपुत केही रिसाएको मुद्रामा प्रस्तुत छन् भने स्वस्तिमा खड्का मन्द मुस्कानसहित देखिएकी छन् । यस संयोजनले फिल्म पारिवारिक, रमाइलो र भावनात्मक मिश्रण बोकेको संकेत दिन्छ । यसअघि यो फिल्मको २ पोष्टर सार्वजनिक भइसकेको छ ।

शान थापा र विजय वस्यालद्वारा तयार गरिएको यो पोष्टरले फिल्मको कथा र चरित्रहरूलाई झल्काउने प्रयास गरेको देखिन्छ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको यो फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासँगै प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ ।
@parikalanewsofficial
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादन नकुल खड्काले गरेका छन् । फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत समावेश छ, जसमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुनिन्छ ।














Discussion about this post