इटहरी/ दशैँको फूलपातीमा प्रदर्शन हुने नेपाली फिल्म ‘बलिदान’ले आफ्नो प्रचार रणनीति झनै तीव्र बनाएको छ । रिलिजको मिति नजिकिँदै गर्दा फिल्म युनिटले बुधबार अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा अभिनेता सन्तोष सेनको विशेष क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।
निर्देशक सेनका अनुसार, टिजरभन्दा अगाडि यी चार पात्रहरूलाई सार्वजनिक गर्नुको उद्देश्य नै दर्शकमा कौतूहल जगाउनु हो । “यी तस्बिरहरू केवल पोस्टर होइनन्,” उनले भने, “यी पात्रहरू हाम्रो समाजको कुण्ठित आवाज हुन्।” फिल्ममा देखिएका कलाकारहरूमध्ये हेमन्त बुढाथोकीलाई निर्देशकले ‘कथाको हड्डी कपाउने पात्र’ भनेका छन् । सयौँ फिल्ममा खलनायकको रूपमा आफूलाई साबित गरिसकेका बुढाथोकीको उपस्थिति यसपटक अझ तीव्र र अर्थपूर्ण हुने अपेक्षा गरिएको छ ।

यस्तै अर्पण थापा आफ्नो आँखामार्फत संवाद बोल्ने पात्रमा देखिएका छन् । निर्देशक सेनका अनुसार, “उनको आँखाबाटै विद्रोह, पीडा र सत्यता महसुस गर्न सकिन्छ ।” ऋचा शर्मा भने समाजको प्रतिनिधित्व गर्ने गहिरो भूमिकामा प्रस्तुत हुँदैछिन्, जहाँ उनले जीवनको असल मर्म उजागर गर्नेछिन् । त्यस्तै, निर्देशक सेनले स्वयं पनि फिल्ममा एउटा सामाजिक रूपान्तरणको संवाहक पात्र निर्वाह गरेका छन् । “मेरो पात्र कथाभित्र मात्र सीमित छैन,” उनले लेखेका छन्, “उसले आफ्नो समाजलाई परिभाषित गरेको छ।”

यसअघि फिल्मका प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ । अभिनेता सौगात मल्लको रहस्यमय अवतार देखाइएको पोस्टर र समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि-टिजरले सामाजिक सञ्जालमा उत्साहपूर्ण प्रतिक्रिया पाएको थियो ।

फिल्म युनिटले प्रचारलाई नयाँ उचाइमा पुर्याउँदै ‘बलिदान ब्यानर’ अभियान समेत सञ्चालन गरिरहेको छ, जसअन्तर्गत देशभर विशाल ब्यानरहरू टाँगिएका छन् । निर्देशक सेनका अनुसार, ‘बलिदान’ले फरक कथावस्तु, सशक्त अभिनय र भावनात्मक गहिराइमार्फत नेपाली फिल्म विदेशी फिल्महरूसँग टक्कर दिने गरी प्रस्तुत गरिएको छ । ‘आसुसेन फिल्म्स् प्रा.लि.’को ब्यानरमा बनेको यो फिल्म पवन ब्राडफोर्ड बिस्टले निर्माण गरेका हुन् भने प्रेम पुरी कार्यकारी निर्माता छन् ।

@parikalanewsofficial














Discussion about this post