इटहरी/ साउन सकिन नपाउँदै नेपाली फिल्म क्षेत्रमा भदौ महिना नेपाली फिल्मको निकै चहलपहल देखिने भएको छ । कारण हो, भदौ महिनामा एकपछि अर्को गर्दै नयाँ अनि फरक फरक स्वाद पस्किदै ८ ओटा नेपाली फिल्म प्रदर्शनमा आउन लागेका छन्, तीमध्ये तीन फिल्मले भने एकै ट्यागलाइन ‘पूर्ण बहादुरको सारङ्गी’को नामसँग जोडेर प्रचारप्रसारलाई आक्रामक शैलीमा लगिरहेका छन् । भदौ ६ गतेबाट सुरु हुने फिल्महरूको यो लहरमा पहिलो हप्तामै ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’ र ‘ताराहरु’ एकसाथ रिलिज हुँदैछन् ।
फिल्म जनै हराएको मान्छे हिमाल न्यौपाने निर्देशित फिल्म हो जसमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटालगायतका कलाकारको अभिनय छ । पेपरक्लीपको ब्यानरमा निर्माण भएको फिल्ममा मनिष राउत एसोसिएट निर्देशक छन् भने फिल्मको निर्मातामा कमल न्यौपाने र विमल न्यौपाने रहेका छन् ।
यस्तै भदौ ६ मै रिलिज हुने फिल्म माग्ने राजा ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्म हो । फिल्मलाई सामीप्य राज तिमल्सेनाले लेखेका हुन् । केदार प्रसाद घिमिरे माग्ने बुढा, विल्सन विक्रम राई, वर्षा शिवाकोटी, आर्यन सिग्देल जस्ता चर्चित कलाकार यसमा देखिने छन् । यो फिल्मलाई आरम्भ प्रोडक्सनको व्यानरमा मुनाल घिमिरेले निर्माण गरेका हुन् ।
भदौ ६ मै रिलिज हुने ताराहरु को निर्देशन आशन्त शर्माले गरेका हुन् भने निर्माता गोपिनी सेढाई र कृष्ण प्रसाद पंगेनी शर्मा हुन् । मेनुका प्रधान, मिरा खड्का, कुन्दन शाक्य, आभास अधिकारी आदिको अभिनय रहेको यो फिल्म वेस प्रालीको प्रस्तुति हो ।
त्यसपछि भदौ महिनाको दोस्रो साता अर्थात् भदौ १२ गते कोशेढुंगा फिल्म प्रदर्शनमा आउनेछ । निर्देशक सरोज पौडेलद्वारा लिखित तथा निर्देशित यस फिल्ममा निती शाह, आर्यन सिग्देल, सुरक्षा पन्त, प्रवीण खतिवडा, लोकमणि सापकोटा, हिउँवाला गौतम लगायतका कलाकारहरुको प्रमुख भूमिकामा अभिनय रहनेछ । नरदेवी फिल्मस्को ब्यानरमा बनेको यो फिल्म सारङ्गी फिल्म्ससँगको सहकार्यमा तयार भएको हो । यो फिल्मलाई प्रेबिल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।
@parikalanewsofficial
कोशेढुंगा रिलिजको दोश्रो दिन अर्थात् भदौ १३ गते गुन्यु चोलो प्रदर्शनमा आउँदैछ, जसले पारालैंगिक समुदायको कथालाई उठान गर्ने प्रयास गरेको छ । समुन्द्र भट्ट निर्देशित यो फिल्ममा नाजिर हुसैन, सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणा लगायतको अभिनय छ । आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानीमा तयार भएको यो फिल्म नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त प्रस्तुति हो । यो फिल्मको कार्यकारी निर्मातामा जेफ्री जे वेन र स्टिभ जोन्स्टन छन् भने सह-निर्मातामा अनुपम श्रेष्ठ रहेका छन् ।
भदौरे फिल्महरूको रिलिज लहरामा तेश्रो साता अर्थात् भदौ २० मा दुई फिल्म एकसाथ आउँदैछन्– रिमै र चिट्ठी । भदौ २० मा रिलिज हुने फिल्म रिमै उपेन्द्र सुब्बाले लेखेका हुन् भने निर्देशक खिलबहादुर गुरुङ हुन् । दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, अर्पण थापा जस्ता कलाकारको अभिनय रहेको यो फिल्म गोरखा सिरानचोक र लिगलिगकोटको सहकार्यमा रोटेपिङ इन्टरटेनमेन्ट को व्यानरमा निर्मित फिल्म हो । यो फिल्मलाई टिका गुरुङ, जीत यात्री गुरुङ र धुन बहादुर घले निर्माण गरेका हुन् ।
यस्तै तेश्रो साता अर्थात् भदौ २० मै रिलिज हुने चिट्ठी माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् भने सञ्जित भण्डारी, मुस्कान तामाङ, गोपाल ढकाल, खड्ग बहादुर पुन, मुस्कान तामाङ, नवराज थापा जस्ता कलाकारले यो फिल्ममा अभिनय गरेका छन् । एरा प्रोडक्सनको व्यानरमा बनेको यो फिल्मलाई कमला जोशीले निर्माण गरेकी हुन् ।
@parikalanewsofficial
यता भदौको अन्तिम साता अर्थात् भदौ २७ मा भने एकल प्रदर्शनको तयारीमा रहेको फिल्म हो अभिमन्यु । सुशान्त गौतम निर्देशित यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, शिशिर वाङ्देल, गौमाया गुरुङलगायत कलाकार छन् । निर्माता विनोद पौडेल र गुन्जन गिरी हुन् भने सहायक निर्मातामा रमेश चौलागाई र हरी श्रेष्ठ रहेका छन् । यो सेभेन सिज सिनेमाको व्यानरमा निर्मित फिल्म हो ।
यी फिल्महरूमध्ये भदौ महिनामा जनै हराएको मान्छे, कोशेढुंगा र अभिमन्यु ले विशेष रूपमा प्रचार प्रसार कन्टेन्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ ट्यागलाइन प्रयोग गरेर प्रचार गरिरहेका छन् । यो ३ फिल्म मध्ये जनै हराएको मान्छेमा पूर्ण बहादुरको सारङ्गी का अभिनेता विजय बराल, कोशेढुंगा मा निर्देशक सरोज पौडेल र अभिमन्यु मा निर्माता विनोद पौडेल र रमेश चौलागाई रहेका छन् । त्यसैले पनि यो ३ ओटै फिल्मको प्रचार प्रसार कन्टेन्ट मा पूर्ण बहादुरको सारङ्गी जोडिएको हो ।
भदौ महिना नेपाली फिल्म हलका लागि निकै व्यस्त, प्रतिस्पर्धात्मक र बहुरंगी बन्ने देखिएको छ । यतिबेला भदौ महिनाका यी ८ फिल्महरू जनै हराएको मान्छे, माग्ने राजा, ताराहरु, कोशेढुंगा, गुन्यु चोलो, रीमै, चिट्ठी र अभिमन्यु मध्ये केहीले प्रचारलाई आक्रामक बनाइरहेका छन् भने केहीले प्रचारमा ध्यान नै दिएका छैनन् भन्दा फरक नपर्ला । अब, यी फिल्महरूको बक्स अफिस कलेक्सन कस्तो आउनेछ भन्ने कुरा भने प्रतिक्षाको विषय बनेको छ ।














Discussion about this post