इटहरी/ जातीय पहिचान, सांस्कृतिक विविधता र प्रेमकथालाई समेटेको नेपाली फिल्म ‘लडाइँ पहिचानको’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । यसअघि रिलिज मिति घोषणा गर्दै प्रेमील पोष्टर सार्वजनिक गरिएको यस फिल्मले अहिले पोस्टरमार्फत प्रमुख कलाकारहरूको अवतार सार्वजनिक गरेको छ । पोस्टरको केन्द्रमा अभिनेता प्रशान्त तामाङलाई प्रस्तुत गरिएको छ भने अंग्रेजीमा फिल्मको शीर्षक उल्लेख गरिएको छ ।
पोष्टरमा प्रशान्तसँगै आन्दोलनको अग्रपंक्तिमा देखिएका अभिनेता सुवास योञ्जन र अन्य आक्रोशित भिडका दृश्यले कथावस्तुको गम्भीरता झल्काउँछन् । पोस्टरको माथिल्लो भागमा करिश्मा मानन्धर, प्रेम सुब्बा, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारहरू देखिन्छन् । अभिनेता धिरेन शाक्यलाई इन्स्पेक्टरको भूमिकामा प्रस्तुत गरिएको छ ।
फिल्मका लेखक, निर्देशक तथा निर्माता भीम लामाका अनुसार, आन्दोलनको दृश्य खिच्ने क्रममा प्रहरीले हानेको पानीको फोहराका कारण अभिनेता प्रशान्त तामाङ घाइते भएका थिए ।
भीम लामा फिल्मस् को ब्यानरमा तयार भएको यो फिल्म मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । मुख्य भूमिकामा प्रशान्त तामाङ र नव-नायिका जेनी तामाङ रहेका छन् ।
@parikalanewsofficial
यस्तै करिश्मा मानन्धर, धिरेन शाक्य, राजेन्द्र खड्गी, सुरबिर पण्डित, प्रेम सुब्बा, किशोर साम्बाहाम्फे, अरुण कुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, सुवास योञ्जन, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो, पवि तेम्बे, रोशन शर्मा, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बु, अम्बिका ढकाल, सुदीप लिम्बुलगायत कोशी प्रदेशका दर्जनौँ कलाकारले अभिनय गरेका छन् ।
फिल्मको सम्पादन रमेश विश्वकर्माले गरेका छन् भने नृत्य निर्देशन मीन कुमार लिम्बु र सानुराजा लिम्बुले सम्हालेका छन् । एक्सन निर्देशन देव महर्जन र छायांकन मदन घिमिरे कायस्थले गरेका छन् । फिल्मको निर्मातामा भिम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ रहेका छन् । यो फिल्मलाई नेपालभर कुबेर सिने डीस्टिव्युटरले वितरणको जिम्मा लिएको छ ।
Discussion about this post