इटहरी/ नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढी कमाइ गर्दै ब्लकबस्टर सावित भएको फिल्म ‘जारी’को प्रतिक्षित सिक्वल ‘जारी २’ असोज ३ गते विश्वव्यापी रूपमा रिलिज हुने भएको छ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले बिहीबार तीनवटा फरक पोस्टरमार्फत आफ्ना पात्र र कथाको झलक सार्वजनिक गर्दै रिलिज मिति पनि पक्का गरेको हो ।
तीनमध्ये पहिलो पोस्टरमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बरालसहित सम्पूर्ण प्रमुख कलाकारहरू प्रस्तुत छन्न। दोस्रो र तेस्रो पोस्टरमा भने दया र मिरुनालाई फरक मूड र भावमा प्रस्तुत गरिएको छ-एकमा दया मस्तीपूर्वक च्याब्रुङ बजाइरहेका छन् भने मिरुना पारम्परिक लिम्बु पोशाकमा मुस्कुराउँदै उभिएकी छन् । अर्कोमा भने दया-मिरुना क्यामरातर्फ हाँस्दै पोज दिइरहेका छन् ।
यी पोस्टरहरूले ‘जारी २’ ले लिम्बु समुदायको सांस्कृतिक पक्ष, विशेषतः च्याब्रुङ संस्कृतिलाई फेरि एकपटक पर्दामा जीवन्त बनाउने संकेत गर्छन् । फिल्मको उपशीर्षक नै ‘सङ अफ च्याब्रुङ’ राखिएको छ, जसले कथाको सांगीतिक र सांस्कृतिक पाटोलाई प्रस्ट पारेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।
@parikalanewsofficial
फिल्मको मुख्य कलाकार दया, मिरुना, बुद्धि र विजयसँगै यसपटक ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहनेछ । ‘जारी’को अपार सफलतापछि बनेको ‘जारी २’प्रति दर्शकको चासो अझ बढी बढेको छ । पहिलो भागको सफल व्यापारिक यात्रालाई निरन्तरता दिँदै ‘जारी २’ले पनि उत्साहजनक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
Discussion about this post