इटहरी/ नेपाली पपसंगीतका चर्चित गायक अनिल सिंहले आफू र म्युजिक डट कमबीचको गीतसम्बन्धी विवाद आपसी समझदारीमा समाधान भएको घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो सामाजिक सञ्जालबाट आधिकारिक वक्तव्य जारी गर्दै विगत केही समयदेखि चलिरहेको विवाद पारस्परिक सम्मानका साथ टुंगिएको स्पष्ट गरेका हुन् ।
वक्तव्यमा अनिलले लेखेका छन्, ‘यो केवल विवादको अन्त्य मात्र होइन, एक सकारात्मक सुरुवात हो – जहाँ भावना, सम्मान र संगीतको मर्म जितेर अगाडि बढेका छौं।’ उनले म्युजिक डट कमप्रति सहकार्यको भावना देखाएकोमा धन्यवाद व्यक्त गरेका छन् भने म्युजिक नेपाललाई वितरणकर्ताको भूमिकामा निष्पक्ष रूपमा सीमित रहँदै सहयोग गरेकोमा कृतज्ञता प्रकट गरेका छन् ।
@parikalanewsofficial
विवादका क्रममा उनले भावुक भएर आत्महत्यासम्मका कुरा सार्वजनिक रूपमा व्यक्त गरेका थिए । त्यसबारेमा स्पष्ट गर्दै उनले भनेका छन्, ‘त्यो मेरो मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्ति थियो।’ साथै उनले ती अभिव्यक्तिका लागि सबै दर्शक, स्रोता र शुभचिन्तकमाझ गहिरो माफी मागेका छन् ।
अब विवादको समाधानसँगै अनिलले ती अभिव्यक्तिहरू समेटिएका सबै भिडियो र सामग्री हटाउने बताएका छन् । उनले आफूमाथि विश्वास राख्ने सबैलाई धन्यवाद दिँदै भनेका छन्, ‘संगीत मेरा लागि केवल पेशा होइन-यो मेरो आत्मा हो, जुन अझ शुद्ध रूपमा तपाईंहरुसामु ल्याउने प्रण म दोहोर्याउँछु ।’ गायक अनिल सिंहले यस वक्तव्यमार्फत आफू फेरि सिर्जनात्मक यात्रातर्फ फर्किएको संकेत दिएका छन् ।












Discussion about this post