इटहरी/ आगामी मङ्सिर १२ गतेलाई प्रदर्शन मिति तय गर्दै आत्मा र मनोविज्ञानको गहिरो द्वन्द्व बोकेको फिल्म ‘द ब्ल्यू लाइट’ले दर्शकसामु आफ्नो पहिलो झलक प्रस्तुत गरेको छ । निलो र प्रकाशयुक्त पृष्ठभूमिमा अडिएको यो झलक रहस्य, डर र आन्तरिक पीडाको यात्राको संकेतजस्तै देखिन्छ । नायिका बेनिशा हमालको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यो झलकसँगै निर्माण टिमले फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरेको छ ।
फिल्मको टिजरले आरम्भमै एक मनोवैज्ञानिक तनावमा रहेकी छोरी र त्यसलाई बुझेका बुवाको संवाद देखाउँछ । छोरीले सपनामा बुवा मरेको देखेकी हुन्छिन्, बुवा भने ‘जसलाई मरेको सपना देखिन्छ, त्यो मान्छे धेरै बाँच्छ’ भन्दै छोरीलाई ढाडस दिन्छन् । टिजरको दोस्रो भागमा दर्शक एक अनिश्चित वातावरणमा प्रवेश गर्छन्, जहाँ हतियार बोकेर हिँडिरहेकी एक युवती छिन्, अर्को युवती भयको आवाजमा थरथराइरहेकी । यिनै दुईबीचको मनोवैज्ञानिक संघर्ष र डरलाई जित्ने प्रयास झल्किन्छ । हेर्नुस् पहिलो झलक ।
पोस्टरमा देखिएका तीन मुख्य पात्र-बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ-सबैजना तनावपूर्ण अनुहारमा प्रस्तुत छन् । विशेषगरी, सृष्टिको हातमा देखिएको रगतले लतपतिएको बन्चरोले फिल्मको हिंसात्मक रहस्यलाई गहिरो बनाउँछ । बलिराम चौहानको निर्देशनमा बनेको यो फिल्म उनको डेब्यु निर्देशन हो । उनी ‘बलिदान’ फिल्ममा लेखक र मुख्य सहायक निर्देशकको रूपमा पहिल्यै परिचित भइसकेका छन् ।
@parikalanewsofficial
‘द ब्ल्यू लाइट’मा बेनिशा, अर्पण, सृष्टिसँगै महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सुरक्षा इटानीको अभिनय देख्न पाइनेछ भने बाल कलाकारमा गृष्मा कटुवाल र सहारा शर्मा छन् । हालसम्म फिल्मको कथावस्तु र पात्रको विवरण गोप्य राखिएको छ । निर्देशक चौहानले दर्शकको उत्सुकता जोगाउँदै कथालाई क्रमशः खुलाउँदै लैजाने बताएका छन् । फिल्मका सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे, कार्यकारी निर्माता नरेन्द्र मैनाली र बेनिशा हमाल हुन् । मैनालीले नै छायांकनसमेत गरेका छन् । आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकको रूपमा संलग्न छन् ।
Discussion about this post