इटहरी/ नेपाली फिल्ममा रहस्य, थ्रिल र चक्रव्यूहमार्फत कथा भन्न खोजिएको नयाँ फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको मोसन टिजरले पैसा, प्रलोभन र त्यसको सञ्जालमा फस्ने मान्छेको कथालाई संकेत गर्दछ । टिजर मोरङको जिल्ला कारागार अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ ।
त्यसपछि उनले सिक्का उछाल्छन्, जुन चक्रको केन्द्रमा गएर रोकिन्छ र त्यहाँ एउटा पजल देखिन्छ । क्रमशः त्यस पजलभित्र चक्कु, पहेँलो पोशाक लगाएका चार व्यक्ति, आगो र उडिरहेका नोटहरू देखाइन्छन् । टिजर अन्त्य हुँदै गर्दा, फिल्मले पैसाका लागि हुने सङ्घर्ष र त्यसले ल्याउने सस्पेन्सपूर्ण परिस्थितिको आभास दिन्छ । हेर्नुस् टिजर ।
फिल्म ‘अभिमन्यु : च्याप्टर १’ आगामी भदौ २७ गते नेपाली भाषामा रिलिज हुँदैछ भने हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मले पैसाको लोभमा परेका पात्रहरूको जीवनमा आउने ट्विस्ट, संघर्ष र उम्किने प्रयासको कथा भन्ने बताइएको छ ।
अहिले पोस्ट–प्रोडक्सन चरणमा रहेको यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो डेब्यू निर्देशन हो सुशान्त गौतमको । फिल्मको स्क्रिप्ट मुकेश खनालले लेखेका हुन् भने मदन थापा क्रिएटिभ निर्देशक हुन् ।
@parikalanewsofficial
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । प्राविधिक पक्षमा जीवन शाक्य लाइन प्रोड्युसर, आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र शरद महतो छायाँकार रहेका छन् ।












Discussion about this post