इटहरी/ पारिवारिक सम्बन्धमा लुकेर रहेका असमझदारी र द्वन्द्वलाई कथावस्तु बनाउँदै नयाँ नेपाली फिल्म ‘परिवार’को निर्माण सुरु भएको छ । काठमाडौमा आयोजित एक विशेष शुभमुहूर्त कार्यक्रममार्फत फिल्मको औपचारिक घोषणा गर्दै छायांकनको काम पनि एकैसाथ प्रारम्भ गरिएको हो । मदन थापाको निर्देशनमा बन्न लागेको यस फिल्मले पारिवारिक मूल्य, सम्बन्ध र त्यसमा देखा पर्ने अन्तरद्वन्द्वलाई फरक ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।
निर्देशक थापा यसअघि ‘बाटो: रोड टू डेथ’ निर्देशन गरिसकेका छन् भने ‘अभिमन्यु : च्याप्टर–१’ मा क्रिएटिभ निर्देशकको रूपमा कार्य गरिरहेका छन् । फिल्मको अनाउन्समेन्ट पोस्टर झनै जिज्ञासाजनक छ । चार पात्र – एक पुरुष, दुई महिला र एक बालकसँगै कुकुर र बिरालोको उपस्थितिले कथावस्तुमा मनोवैज्ञानिक तनाव वा द्वन्द्व रहेको संकेत गर्छ । टाइटलमा ‘परि’ अलग देखाइएको छ भने बाँकी ‘WAR’ (युद्ध) अंग्रेजीमा लेखिएको छ, जसले पारिवारिक द्वन्द्वको प्रतिनिधित्व गर्छ ।

हालसम्म कलाकारहरूको नाम गोप्य राखिएको छ । छायांकन भने मुख्यतः काठमाडौंमा हुनेछ भने केही दृश्य भ्यालीबाहिर खिचिने निर्माणपक्षले जानकारी दिएको छ । फिल्मका निर्माता किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा र स्प्रान्जा कँडेल हुन् भने सहनिर्मातामा सन्तोष अधिकारी छन् । कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका हुन् भने स्टोरी डिरेक्शन निर्देशक थापाकै रहनेछ ।
@parikalanewsofficial
डिओपीमा निरज कँडेल, सिनेमाटोग्राफीमा विशेष महर्जन, स्टाइल डिरेक्शनमा विशाखा बिक्रम थापा, क्रिएटिभ डिरेक्टरमा शेर शाही, चिफ एडीमा सिर्जना भुजेल, असिस्टेन्ट डिरेक्टरमा राजिव गहतराज र एक्सन डिरेक्टरमा एनबी महर्जन रहेका छन् । वारिस सोना लाइन प्रोड्युसर तथा रमेशबहादुर शाही कार्यकारी निर्माता रहेका फिल्म ‘परिवार’ मा रे अफ आर्टको प्रस्तुति रहनेछ भने भिसा आई फिल्मस, साही फिल्मस र आत्रेय प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा निर्माण हुनेछ ।















Discussion about this post