इटहरी/ तीज नजिकिँदै गर्दा गायक तथा अभिनेता प्रकाश सपुत नयाँ सन्देशमूलक गीत लिएर दर्शकमाझ आउने तयारीमा छन् । चार वर्षअघिको चर्चित सामाजिक गीत ‘बदला बरिलै’ को दोस्रो श्रृंखला स्वरूप उनले ‘बदला बरिलै २’ ल्याउँन लागेका हुन्, जसको शीर्षक ‘नाइँ भनेसि नाइँ’ राखिएको छ । यो गीतमा उनले पछिल्लो पुस्ताका लोकप्रिय गायिका समीक्षा अधिकारी र एलिना चौहानसँग गायनमा सहकार्य गरेका छन् ।
छायांकन सकिएको गीत केही दिनभित्र सार्वजनिक गर्ने तयारीमा प्रकाश छन् । सामाजिक सञ्जालमार्फत उनले यस गीतमार्फत पुनः एउटा सशक्त आवाज ल्याउन लागेको जानकारी दिएका छन् । साथमा उनले विम्बात्मक पोस्टर समेत सार्वजनिक गरेका छन्, जसले गीतको गम्भीर सामाजिक पक्षको संकेत गर्छ ।

यसअघिको गीत ‘बदला बरिलै’मा प्रकाशले बलात्कारविरुद्धको आवाज उठाएका थिए, जुन देवी घर्तीको स्वरमा आएको थियो र अत्यधिक चर्चित भएको थियो । यसपटकको गीतमा पनि उनले महिला हिंसा तथा असमानताविरुद्धको कथा उठाउने अनुमान गरिएको छ । फिल्म क्षेत्रमा व्यस्त भइरहेका प्रकाशले लामो समयपछि ल्याउन लागेको यो गीत पुनः सामाजिक विमर्शको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial















Discussion about this post