इटहरी/ सुनसरी इटहरीका समाजसेवी तथा कलाकारहरूले भारतको छत्तीसगढमा आयोजित एक भव्य कार्यक्रममा नेपाली कला र संस्कृतिको उत्कृष्ट प्रतिनिधित्व गर्दै विशेष सम्मान प्राप्त गरेका छन् । निःसहाय बालबालिका सेवा आश्रमकी संस्थापक गीता गौतम ‘नारी रत्न अवार्ड’ बाट सम्मानित भएकी छन् भने इटहरीका चर्चित नृत्य निर्देशक तथा कलाकार तुलसी घिमिरे (समर्पण) लाई ‘छत्तीसगढ कला रत्न अवार्ड’ प्रदान गरिएको छ ।
मानव अधिकार तथा अपराध नियन्त्रण ब्यूरो छत्तीसगढले आयोजना गरेको उक्त कार्यक्रममा नेपालबाट गएका कलाकारहरूको प्रस्तुतीले दर्शकको मन जित्यो । कार्यक्रमका क्रममा प्रस्तुत नृत्यहरू पूर्वेली मारुनी, पश्चिमेली कौडा र नेपाली राष्ट्रिय गीतमा आधारित थिए, जसले नेपाली लोक संस्कृतिको सुन्दर झल्को दिँदै भारतीय दर्शकको ताली र प्रशंसा बटुल्यो । नृत्य प्रस्तुत गर्ने कलाकारहरूमध्ये सेन्चु गौतम, कृस्ण गौतम, भारती, युनिसा, प्रीतिका, लिजा गौतम लगायतका अन्य कलाकारहरूको सहभागिता उल्लेखनीय रह्यो ।

गायनतर्फ नेपालका ‘कैलाश खेर’ भनेर चिनिने अनिस परियारले पनि आफ्नो दमदार प्रस्तुतीमार्फत कार्यक्रमको आकर्षण थपेका थिए । नृत्य निर्देशक घिमिरेले नेपाली र हिन्दी गीतमा आफ्नै प्रस्तुतीसमेत दिएका थिए भने गायक अनिस परियारसँगको समन्वयले दर्शकहरूमाझ विशेष प्रभाव पारेको थियो । कार्यक्रमको प्रभावबारे आश्रमकी संस्थापक गौतमले भारतमा नेपाली लोकसंस्कृति र कलाको कदर हुँदै गएको बताइन् ।
@parikalanewsofficial
यसअघि पनि गीता गौतम भारतको दिल्लीमा आयोजित दक्षिण एसियाली नेशनल मण्डला ह्युमन राइट्स लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित भइसकेकी छन् । उक्त कार्यक्रममा आश्रमका अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि सम्मान प्राप्त गरे । उनी शैक्षिक क्षेत्रका साथै सामाजिक संघ-संस्था र फिल्म निर्माणमा समेत सक्रिय छन् । श्रेष्ठले यसअघि ‘धुन’, ‘त्रिपासा’ र ‘मनै त हो’ जस्ता फिल्म निर्माण गरिसकेका छन्, जसले दर्शकमाझ राम्रो प्रभाव पारेका छन् । नेपालको कला र सेवामूलक योगदानलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान गरिएको यो कार्यले इटहरी तथा सम्पूर्ण नेपाली समाजलाई गौरव प्रदान गरेको छ ।















Discussion about this post