इटहरी/ नेपाली युवायुवतीले वैदेशिक रोजगारीमा भोगेका दुःख, पीडा र संघर्षको सजीव चित्रण गर्ने फिल्म ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक भएको छ । श्रावण सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरले दर्शकको मन छोएको छ, जसमा हजारौँ नेपालीले विदेशी भूमिमा व्यहोर्नु परेको कठोर यथार्थ उजागर गरिएको छ । फिल्ममा देखाइएका दृश्यहरू गहिरा छन्-जसले आतङ्कवादीद्वारा बन्धक बनाइएका नेपाली कामदारहरूको कटु सत्य सम्झाउँछन् । विशेषगरी, अभिनेता प्रमोद चौलागाईंले बन्धक अवस्थामा रहेर देशमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण भइरहेको दृश्य निकै मार्मिक देखिन्छ ।
फिल्मका निर्देशक विभोर पोखरेल भन्छन्, “‘रियाल रिङ्गेट’ हरेक नेपालीको कथा हो । यो चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको जीवन, संघर्ष र त्यागलाई नजिकबाट देखाउने प्रयास गरेको छ ।” फिल्मको शीर्षक स्वयं प्रतीकात्मक छ-‘रियाल’ (साउदी र कतारको मुद्रा) र ‘रिङ्गेट’ (मलेसियाको मुद्रा) ले ती मुलुकहरूको प्रतिनिधित्व गर्छ, जहाँ लाखौँ नेपाली युवा आफ्नो र आफ्ना परिवारको भविष्यका लागि पसिना बगाइरहेका छन् । हेर्नुस् ट्रेलर।
प्रमोद चौलागाईं र निता ढुङ्गानाको मुख्य भूमिका रहेको फिल्ममा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी जस्ता कलाकारको अभिनय देख्न पाइनेछ । प्रदीप भारद्वाज द्वारा लेखिएको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन र किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर रहेको छ ।
फिल्मका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्ले को स्वर समावेश गरिएको छ । शब्द रचनामा अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसी को कलम चलेको छ । भारतको राजस्थान तथा नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो फिल्मलाई काफिया फिल्म्स ले वितरण गर्दैछ । नेपाली माटो छाडेर विदेशी भूमि टेक्नेहरूका लागि ‘रियाल रिङ्गेट’ एउटा भावनात्मक ऐना बन्न सक्ने देखिन्छ । ‘रियाल रिङ्गेट’ यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।
@parikalanewsofficial














Discussion about this post