इटहरी/ बालबालिकाहरुको गायन प्रतिभा प्रस्फुटन गर्ने चर्चित रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ चौथो संस्करण यतिबेला विवादास्पद मोडमा पुगेको छ, जहाँ एक प्रतिस्पर्धी बाहिरिएपछि केवल निर्णायकको निर्णयमाथि प्रश्न मात्र उठेको छैन, गायिका तथा कोच मेलिना राईलाई सामाजिक सञ्जालमार्फत धम्कीसमेत दिइएको छ । गत शनिबार प्रसारित ब्याटल राउण्डपछि कार्यक्रम विवादमा तानिएको हो ।
मेलिना राईको टिममा रहेका तीन बाल प्रतिस्पर्धी-साईमा राई, दावा लामा र रोशना विष्टले ‘बुझे हुन्छ कुरा’ बोलको गीत गाएका थिए । प्रस्तुतिपछि कोच मेलिनाले रोशनालाई अगाडि बढाउँदै साईमा र दावा बाहिरिएको घोषणा गरिन् । तर यतिबेला सामाजिक सञ्जालमा मेलिनाको निर्णयमाथि आलोचना बढिरहेको छ, जहाँ धेरै दर्शकहरूले साईमाको गायन उत्कृष्ट रहेको दाबी गर्दै रोशनाको प्रस्तुति कमजोर भएको उल्लेख गरेका छन् ।

यही सन्दर्भमा साईमा राईले एक भिडियो पोस्ट गर्दै कार्यक्रमको प्रसारण र पछि अपलोड गरिएको एपिसोडबीच फरक भएको बताएकी छिन् । उनका अनुसार लाइभ प्रसारणपश्चात भिडियो म्युट गरिएको थियो र भोलिपल्ट राति सम्पादन गरी पुनः नयाँ भिडियो सार्वजनिक गरिएको थियो । उक्त नयाँ भिडियोमा दावाको र साईमाको स्वर बिगारिएको र रोशनाको प्रस्तुति लिप्सिङमार्फत सुधारिएको आरोप उनी लगाउँछिन् ।
@parikalanewsofficial
यसबीच, साईमाकी बुबा रञ्जित राराहाङ्ग राई आक्रोशित बनेका छन् । फेसबुकमा उनले लेखेका थिए, “पूर्वमा मेलिना राईलाई कालोमोसो र जुत्ताको माला लगाउन सकिन भने म साईमाको बाबा हैन ।” सो स्ट्याटसले सामाजिक सञ्जालमा झन ठूलो चर्चा र मेलिना राईलाई पूर्व आउँदा त्रास पैदा हुने भएको देखिन्छ । यस्तै, उनले अघिल्लो पोष्टमा पनि मेलिनाप्रति आक्रोश पोखेका छन् ।

यो सम्पूर्ण घटनाले ‘द भ्वाइस अफ किड्स’ चौथो संस्करणको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ, जहाँ केवल प्रतिभाको मूल्यांकन मात्र नभई सम्पादनको निष्पक्षता पनि विवादको विषय बनेको छ । कार्यक्रम निर्माण पक्ष वा गायिका मेलिना राईले यसबारे कुनै आधिकारिक प्रतिक्रिया हालसम्म दिएका छैनन् ।















Discussion about this post