ईटहरी/ पहिलोपटक नेपाली फिल्ममा ट्रान्सवुमनको कथालाई केन्द्रीय विषय बनाउँदै निर्माण गरिएको फिल्म ‘गुन्यु चालो : द ड्रेस’ को गीत सार्वजनिक गरिएको छ । सामाजिक सन्देश र आत्मस्वीकृतिको भाव बोकेको गीत ‘म फूल हुँ कि काँडा’ आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सार्वजनीक गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ भने स्वर गायिका मनिषा पोखरेलको रहेको छ ।
“म फूल हुँ कि काँडा” भन्ने शीर्षकको गीतले प्रेमप्रतिको आत्मविश्वास र आत्मसम्मानलाई व्यक्त गर्छ । गीतमार्फत माया गरिने भए भोगेर जान, तर प्रमाण पनि दिन भनिएको छ । भिडियोमा मुख्य अभिनेता नाजिर हुसेन महिला पहिरनमा दमदार प्रस्तुतिमा देखिएका छन् । उनको गम्भीर नृत्य र हाउभाउ दर्शकलाई आकर्षित गर्ने खालको छ । साथमा सुशील सिटौला पनि देखिएका छन् । ‘गुन्यु चालो : द ड्रेस’ को निर्देशन समुन्द्र भट्टले गरेका हुन् । फिल्म आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ । हेर्नुस् भिडियो।
ट्रान्सवुमन पात्रको संवेदनशील कथालाई लिएर बनेको यो फिल्ममा नाजिर हुसेनले प्रमुख भूमिका निर्वाह गरेका छन् ।फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी लगायत मुख्य भूमिकामा छन् । फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सन विदेशी प्रविधिमा आधारित छ । सम्पादनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड स्तरमा गरिएको छ ।
@parikalanewsofficial
चर्चित हलिउड गायिका लिजा जेरार्डले गीतमा स्वर दिएकी छन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार पारेका हुन् । नेपाल र हलिउड प्रोडक्सन हाउसको सहकार्यमा बनेको फिल्मको निर्माणमा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्मातामा जेफ्री जे वेन र स्टिभ जोन्स्टन छन् भने अनुपम श्रेष्ठ सह-निर्माताका रूपमा रहेका छन् । अलोक शुक्लाको छायांकन रहेको फिल्म अमेरिकाको तस्वीर फिल्म मार्केटमा समेत छनोट भइसकेको छ । यसका अन्तर्राष्ट्रिय वितरण अधिकार बफेलो एट्ले (अमेरिका) ले प्राप्त गरिसकेको छ ।















Discussion about this post