इटहरी/ कारागारको पर्खालमाथिबाट आकाशतिर चिच्याउने मुद्रामा देखिएका कामेश्वर चौरासिया र उनको छेउमा राखिएको रातो डफल ब्याग-यी दुई संकेतले दर्शकको मनमा रहस्य र रोमाञ्चकता पैदा गराउँदै फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले प्रचारको पहिलो पाइला चालेको छ । सार्वजनिक पोस्टरमा विराटनगर कारागार, त्यसलाई घेरेको तारबार र त्यसको माथि उभिएर चिच्याइरहेका कामेश्वर चौरासियाको लुक्सले गम्भीर कथा लुकेको आभास दिलाउँछ ।
पोस्टरमा प्रयोग गरिएको शान्त निलो रङ र आक्रोशयुक्त भावबीचको द्वन्द्वले कथाको गहिराइ झल्काउँछ । दर्शकले अनुमान गर्न थालेका छन्-के उनी फिरौती माग्ने पात्र हुन् ? कि फिरौती तिर्दै कारागारको भित्री यातनाबाट उम्किन खोजिरहेका छन् ? भदौ २७ गते नेपालीमा र असोज ६ (सेप्टेम्बर २२) मा हिन्दी भाषामा प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मले पैसाको लोभमा फसेको पात्रको चक्रव्यूह र त्यहाँबाट बाहिर निस्कन खोज्ने संघर्षको कथा भन्ने जनाइएको छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा बनेको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ मा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला प्रमुख भूमिकामा छन् । सुशान्त गौतमको निर्देशनमा बनेको फिल्म उनको डेब्यु प्रोजेक्ट हो भने, कथा लेखनमा मुकेश खनाल र क्रिएटिभ निर्देशनमा मदन थापा संलग्न छन् ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । शरद महतोको डिओपी, मदन घिमिरेको सम्पादन, जीवन शाक्यको लाइन प्रोडक्सन तथा आकाश उखेडा सह-निर्देशकको रूपमा काम गरेका छन् । पोस्टरमार्फत नै कथाको गहिरो तहको संकेत गर्ने प्रयास गरिएको ‘अभिमन्यु : च्याप्टर–१’ ले अब ट्रेलरमार्फत त्यो कौतुहल अझ बढाउने अपेक्षा गरिएको छ ।















Discussion about this post