इटहरी/ कोरिया जाने सपना बोकेर काठमाडौं झरेका एक युवाको यात्रामा प्रेम, धोका, संघर्ष र छटपटीको संवेदनशील चित्र कोर्दै प्रतिक्षित फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ प्रस्तुत गरिएको सार्वजनीक टिजरले युवाको सपना, उसको नियति र सम्बन्धहरूबीचको गहिरो द्वन्द्वलाई उजागर गरेको छ ।
टिजरको सुरु एउटा परम्परागत विवाह दृश्यबाट हुन्छ, जहाँ फिल्मका प्रमुख पात्र विजय बराल आफ्नो सपनाको यात्रा आरम्भ गर्दैछन् । कोरिया जान बुवासँगको झगडा, काठमाडौं पुगेपछि आफ्नै गाउँलेबाट हुने ठगी र त्यसले सिर्जना गर्ने गन्तव्यहीनता टिजरको मूल कथा हो । यसले “जानु त विदेश तर मन–संघर्षमै” भन्ने सन्देश दिँदै पात्रको आन्तरिक द्वन्द्व प्रस्तुत गर्छ । हेर्नुस् टिजर ।
सपना पुरा गर्न हिँडेको पात्र कसरी झन् धेरै समस्यामा फस्छ भन्ने कथा–विन्यासको छायाँमा प्रेम र सम्बन्धका सूक्ष्म तहहरू पनि देखिन्छन् । टिजरमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापालगायत देखिएका छन् । निर्देशक हिमाल न्यौपानेको निर्देशनमा बनेको फिल्ममा अभिनेता मनिष राउत असोसियट निर्देशकका रूपमा जोडिएका छन् ।
पटकथा, संवाद र कथा भानुभक्त ढकालले लेखेका हुन् । ‘जनै हराएको मान्छे’लाई पेपरक्लिप ब्यानरले निर्माण गरेको हो, जसका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । फिल्ममा कार्यकारी निर्माता नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । टिजर र ट्रेलर शाहिल खानले तयार पारेका हुन् भने फिल्ममा सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन रहेको छ ।
@parikalanewsofficial
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीतले कथालाई थप भावनात्मक बनाउने प्रयास गरिएको छ । यसैबीच, ‘पूर्णबहादुरको सारंगी’बाट यो फिल्मका प्रमुख अभिनेता विजय बरालले राष्ट्रिय चलचित्र अवार्ड जितेका छन् । यता भरत रेग्मीले पनि सोही फिल्मबाट लागि उत्कृष्ट सम्पादनको पुरस्कार जितेका छन् । यही सन्दर्भमा ‘जनै हराएको मान्छे’ टिमले दुबैलाई सम्मानसमेत गरेको हो ।
भदौ ६ गते प्रदर्शनमा आउने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ केवल मनोरञ्जन होइन, युवाको सपना र विडम्बनाको घनघोर साक्षी बन्ने संकेत टिजरले गरेको छ ।














Discussion about this post