ईटहरी/ नेपाली फिल्म उद्योगमा फरक स्वाद र शीर्षक बोकेको फिल्म ‘मुनामदनको ब्रेकअप’ को औपचारिक घोषणा भएको छ । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने यो फिल्मले ग्रामीण परिवेशमा आधारित नवीन प्रेमकथा दर्शकसामु ल्याउने तयारी गरिरहेको छ । फिल्ममा सामीप्यराज तिमल्सेनाले पटकथा लेखिरहेका छन् भने श्रीधर पौडेल कार्यकारी निर्माताको भूमिकामा छन् ।
पत्रकारिता पृष्ठभूमिबाट आएका लामा, तिमल्सेना र पौडेलको सहकार्य २०७५ सालमा आएको फिल्म ‘गोपी’पछि पुनः यस परियोजनामा हुँदैछ । हालसम्मका लागि राज कटवाल मात्र कलाकारका रूपमा फाइनल भइसकेका छन् । उनले पछिल्लो पटक फिल्म ‘नरसिंहा अवतार’ मा अभिनय गरेका थिए । निर्देशक लामाका अनुसार, बाँकी कलाकारको छनोट पनि कथाको आवश्यकता अनुसार गरिनेछ ।
@parikalanewsofficial
लेखक तिमल्सेना भन्छन्, ‘फिल्ममा अघिल्ला नेपाली फिल्महरूभन्दा फरक खालको प्रेमकथा हुनेछ, ग्रामीण परिवेशमा आधारित तर नयाँ शैलीमा । अहिले दर्शक हलसम्म तान्न कठिन छ, त्यसैले हामी पटकथामा विशेष मिहिनेत गरिरहेका छौं ।’ राज कटवाल स्वयं पनि फिल्मप्रति उत्साहित छन् । कार्यकारी निर्माता पौडेलका अनुसार फिल्मको छायांकन कास्कीको ग्रामीण क्षेत्रमा गरिनेछ । ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म निर्देशन गरेका लामा ‘मुनामदनको ब्रेकअप’लाई मनोरञ्जनात्मक, भावनात्मक र कथ्यमा नयाँपनसहितको फिल्म बनाउने लक्ष्यमा छन् ।















Discussion about this post