इटहरी/ सामाजिक सन्देश बोकेको फिल्म ‘मोहर’ को प्रदर्शन मिति नजिकिँदै जाँदा यसको प्रचारप्रसार झनै तिव्र भएको छ । आउने साउन २३ गतेबाट रिलिज हुन लागेको यो फिल्मको प्रचारका लागि फिल्मका प्रमुख कलाकार पल शाह र बेनिशा हमाल फिल्मको चर्चित गीत ‘झुम झुम’ को लयमा दर्शकहरुसँगै नाच्दै बुटवल पुगेका छन् । बुटवलका कलेज, विद्यालय र विभिन्न संस्थामा आयोजित कार्यक्रममा कलाकारहरूले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै फिल्मको विषयवस्तु र सन्देशबारे चर्चा गरे ।
उनीहरूसँगै फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही र मुख्य सहायक निर्देशक गिरिराज घिमिरे पनि सहभागी थिए । साक्षात्कारको क्रममा नायक पल शाहले फिल्म ‘मोहर’ सबै पुस्ताका दर्शकले सँगै बसेर हेर्न सक्ने पारिवारिक कथा भएको बताए । उनले भने, “एउटा कलाकारको कमाइ भनेकै दर्शकको माया हो, जुन सजिलै कमाउन सकिँदैन ।” कार्यक्रममा उनले आफ्ना फ्यानहरुसँग आत्मीय संवाद गर्दै फिल्मप्रति प्रेम देखाएकोमा आभार प्रकट गरे ।

फिल्मको प्रचारक्रममा रोट्राक्ट क्लबमा आबद्ध युवाहरूसँग समेत संवाद गरिएको थियो । पल र बेनिशालाई प्रत्यक्ष भेट्दा दर्शक निकै उत्साहित देखिए, उनीहरूले ‘मोहर’ लाई लिएर निकै आशावादी प्रतिक्रिया दिएका थिए ।
@parikalanewsofficial
देउकी प्रथाको पृष्ठभूमिमा निर्माण भएको यो फिल्ममा पल र बेनिशासँगै नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा बनेको ‘मोहर’ ले समाजमा विद्यमान यथार्थलाई समेट्दै मनोरञ्जनसहित सन्देश दिने प्रयास गरेको छ । फिल्मको टिजर र दुई गीतले राम्रो प्रतिक्रिया पाइरहेका छन् भने केही दिनभित्रै ट्रेलर सार्वजनिक हुने तयारीमा छ । ‘मोहर’ ले बक्स अफिसमा पनि उल्लेखनीय उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।














Discussion about this post