इटहरी/ आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारी सहित अहिले प्री-प्रोडक्सन मा रहेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्धित भएकी छन् । कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको यो फिल्मले नेपाल-जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा बोल्नेछ । यसअघि यो फिल्ममा प्रदीप खड्का, केदार प्रसाद घिमिरे “माग्ने बुढा”, सौगात मल्ल, जापानिज अभिनेत्री रजेल इचिमिया अनुबन्ध भइसकेका छन् ।
वर्षा शिवाकोटी नेपाली फिल्म उद्योगमा एक स्थापित अभिनेत्री हुन् र उनको अभिनयले ‘जहाजैमा’ लाई थप उचाई दिने अपेक्षा गरिएको छ । उनको भूमिकाबारे भने अहिले विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । यो फिल्मको छायांकन आगामी भदौबाट सुरु हुनेछ । यसको छायांकन मुख्य रूपमा जापानमा हुनेछ, जसपछि नेपाल र फिलिपिन्समा पनि केही दृश्यहरु खिचिनेछन् ।

उज्ज्वल गुरागाईंको निर्माणमा यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई आर.आर. फिल्म्सले वितरण गर्नेछ । फागुन १ गतेको मिति नेपाली फिल्म बजारका लागि निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ, किनभने ‘जहाजैमा’ सँगै ‘डबल ट्रिपल’, ‘कल्ली’ र ‘लालीबजार’ लगायतका अन्य फिल्महरु पनि सोही मितिमा प्रदर्शनमा आउँदैछन् । यसले गर्दा बक्स अफिसमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पुरुषोत्तम प्रधानको डीओपी रहने यस फिल्मको लेखन अभिमन्यू निरवीले गरेका हुन् ।
@parikalanewsofficial














Discussion about this post