इटहरी/ गीतमार्फत चर्चामा आएका अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’ अब कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । टंक बुढाथोकीको लेखन, निर्देशन तथा निर्माणमा बनेको यो फिल्मको प्रदर्शन मिति बुधबार औपचारिक रूपमा घोषणा गरिएको हो । निर्मात्री बिष्णु माया मैनाली र विभिन्न वितरण कम्पनीबीचको सम्झौता पश्चात् निर्माण टिमले फिल्मको रिलिज मिति टुंगो लगाएको हो । नेपालभित्र फिल्मको वितरण अधिकार एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले खरिद गरेका छन् ।
अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बाट प्रेरित फिल्ममा सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमा थपलिया, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत, साम्राज्ञी थापा, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायत दर्जनौं कलाकारको अभिनय रहेको छ ।
फिल्म सामाजिक विषयवस्तुमा आधारित छ । पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् भने कार्यकारी निर्माता सपना शर्मा रहेकी छन् । यस्तै सह-निर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र विजया पाण्डे छन् । प्राविधिक पक्षमा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन तथा नवराज शर्मा मुख्य सहायक निर्देशकको रूपमा रहेका छन् । कक्षा ९ मा अध्ययनरत अशोक दर्जीको जीवन र गायन यात्रा समेटिएको यो फिल्मले दर्शकलाई भावनात्मक रूपमा छुने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial














Discussion about this post