इटहरी/ पाइलट, व्यवसायी र सञ्चार उद्यमीका रूपमा परिचित क्याप्टेन रामेश्वर थापाको जीवन अब ठूलो पर्दामा उत्रिन लागेको छ । उनको जीवनीमा आधारित फिल्म ‘क्याप्टेन साब’को शुभमुहूर्त बिहीबार काठमाडौंको गौरीघाटमा सम्पन्न भयो । फिल्मको मुहूर्त सट डा. उपेन्द्र महतो, क्याप्टेन रामेश्वर थापा स्वयं र टिमले निर्देशन गर्दै गरेका थिए । निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्ने यो बायोपिक फिल्म पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुति हो ।
यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने फिल्मका निर्माता करण श्रेष्ठ, श्रृष्टिमा खनाल र निर्देशक खनाल स्वयम् छन् । कार्यकारी निर्माताको भूमिका सिर्जना नापितले सम्हालेकी छन् । फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा देखिनेछन् । ‘धनपति’पछि खगेन्द्र र सुरक्षासँग निर्देशक खनालको यो पुनः सहकार्य हो भने यी तीन कलाकार एउटै फिल्ममा पहिलोपटक एकैसाथ देखिने तयारीमा छन् ।
कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायांकन भदौको पहिलो साताबाट काठमाडौं, चितवन र काभ्रेका विभिन्न लोकेसनमा हुनेछ । फिल्मलाई पूर्ण मनोरञ्जनात्मक बनाउने योजना निर्देशक खनालको छ । उनका अनुसार, “क्याप्टेन साब एक फरक खालको फिल्म हुनेछ । क्याप्टेनले आकाशमा भोग्ने चुनौती, स्थानीय स्तरमा पाउने सम्मान, र व्यवसायमा देखिने अनेकन पक्षलाई समेट्नेछौं ।”
@parikalanewsofficial
फिल्मको लेखन पनि निर्देशक खनालकै रहेको छ भने सौगात बस्नेत मुख्य सहायक निर्देशक छन् । पोस्टर तथा पब्लिसिटी डिजाईन ट्राइडेन्ट कन्सेप्टका भीमसेन शाही ‘रोयल भीमसेन’ले सम्हाल्नेछन् । फिल्मका प्रोडक्सन डिजाईनर अकी थेक्पा हुन् भने रोहित राज गौतम र विष्णु मैनाली प्रोडक्सन म्यानेजरको रूपमा छन् । ‘क्याप्टेन साब’ले आकाशदेखि जमीनसम्मका अनुभव बोकेका एक व्यक्तिको प्रेरणादायी कथा दर्शकसम्म पुर्याउने लक्ष्य लिएको छ ।














Discussion about this post