इटहरी/ नेपाली फिल्म उद्योगमा लामो समयपछि एक छुट्टै शैलीमा फर्किएका निर्देशक ऋषि लामिछानेको नयाँ फिल्म ‘माग्ने राजा’ को पहिलो गीत सार्वजनिक भएको छ । चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको जोडीलाई प्रस्तुत गरिएको उक्त गीत ‘त्यो मिठो जोवन’ मंगलबार सार्वजनिक गरिएको हो ।
गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने स्वरमा रचना रिमाल र सविन सुवेदीको दमदार प्रस्तुतिले आकर्षण थपेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् भने छायांकनमा नरेन्द्र मैनाली छन् । गीतको भिडियोमा माग्ने बुढा र वर्षा सिवाकोटीको दमदार डान्स र केमेस्ट्रीले दर्शकलाई मनोरञ्जन दिने सम्भावना देखिएको छ । हेर्नुस् भिडियो।
अडियो र भिडियो दुवै पक्षमा उत्कृष्ट बनेको गीतले सिनेप्रेमीको ध्यान तान्ने संकेत देखाएको छ । ८ वर्षको विश्रामपछि निर्देशनमा फर्किएका लामिछानेले यो फिल्मबाट वर्तमान युवापुस्ताले आफूलाई ‘राजा’ ठान्ने प्रवृत्ति र सोचलाई पर्दामा उतार्ने बताएका छन् । फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि लामो समयपछि निर्माणमा फर्किएका हुन्, जसले यसअघि ‘इच्छा’ निर्माण गरेका थिए ।

हाल उनी दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्षसमेत हुन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा माग्ने बुढा र वर्षासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, तथा टिकटक मोडल पवित्रा साकी (मिस पबी) को पनि अभिनय रहेको छ । विशेष भूमिकामा अभिनेता आर्यन सिग्देल देखिनेछन् । फिल्मको कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सेनाले लेखेका हुन् भने संगीतमा दीपक शर्मा र बाबुल गिरीको रहेका छन् । फिल्म आरआर फिल्म्स मार्फत वितरण गरिनेछ ।
@parikalanewsofficial














Discussion about this post