इटहरी/ नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत मूल्यलाई आत्मसात् गर्दै निर्माण गरिएको फिल्म ‘नाकछोङ’ अब युकेमा प्रर्दशन हुने भएको छ । जुलाई २० मा ‘द आसफोर्ड सिनेमा’मा आयोजना हुने उक्त विशेष शोको सम्पूर्ण टिकट बिक्री भइसकेको निर्माता ज्योति राज राईले जानकारी गराए । शोको असाधारण माग र उत्साहजनक दर्शक सहभागिताले निर्माता राई दंग छन् ।
सो फिल्म प्रदर्शनको सम्पूर्ण व्यवस्थापन किरात राई यायोक्खा प्रा.का. स आसफोर्ड द्वारा गरिएको हो । प्रदर्शनअघि सार्वजनिक गरिएको पोस्टरमा प्रमुख अभिनेता भुवन सिंह राई लाई काठमाडौँको सांकेतिक पृष्ठभूमिमा प्रस्तुत गरिएको थियो, जसले फिल्मको कथामा रहेको गहिरो रहस्य र सांस्कृतिक गाम्भीर्य झल्काउँछ । निर्माता ज्योतीराज राई को प्रस्तुति रहेको फिल्मको निर्देशन किरण राई ले गरेका हुन्, जसले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरिसकेका छन् ।

‘नाकछोङ’ उनको तेस्रो निर्देशन हो, जसको पटकथा किरण स्वयंले निर्माता राईसँग सहकार्य गर्दै तयार पारेका हुन्। निर्माण युनिटका अनुसार विदेश प्रदर्शन पश्चात् नेपालमा फिल्म सार्वजनिक गर्ने योजना छ । फिल्ममा राई समुदायको जीवनशैली, विवाह संस्कार, चाडपर्व, र कुलपितृ पूजा मा अनिवार्य मानिने ‘बिजुवा (नाकछोङ)’ लाई कथावस्तुको केन्द्रमा राखिएको छ ।
@parikalanewsofficial
परम्परा र आधुनिकताको संगमको प्रयासस्वरूप तयार पारिएको यस फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, लगायतका कलाकारहरूको अभिनय रहेको छ । बाल कलाकार जेशन राई को पनि फिल्ममा विशेष भूमिका रहेको छ ।
फिल्मको छायांकन बाबु श्रेष्ठ ले गरेका हुन् भने संगीत दिनेशकाजी वान्तवा, अनिल कोई राई ले दिएका छन् । गीतमा राजन मुकारुङ र विष्णु किराती का शब्द, तथा नोगेन लिम्बु र परेस राई को स्वर सुन्न सकिन्छ । यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’, ‘प्रोडूसर’ लगायतका फिल्म निर्माण गरिसकेका ज्योतीराज राई ‘नाकछोङ’ मार्फत फेरि एकपटक मौलिकता, परम्परा र पहिचानलाई सशक्त रूपमा दर्शकसामु ल्याउने तयारीमा छन् ।














Discussion about this post