इटहरी/ नेपालको सामाजिक यथार्थ र जनजीवनको गहिरो कथावस्तुलाई लिएर निर्माण गरिएको बहुप्रतीक्षित फिल्म ‘सिटामोल’ आगामी साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टोली अहिले प्रचार–प्रसारमा कुनै कसर बाँकी नराख्ने पक्षमा देखिन्छ । हालै मात्र ‘कमेडी नाइट विथ च्याम्पियन’मा उपस्थित भएर दर्शकसँग प्रत्यक्ष संवाद गरेका कलाकारहरू विभिन्न मिडिया हाउस र कार्यक्रमहरूमा सक्रिय हुँदै फिल्मको हाइप थप उचो बनाउने प्रयासमा छन् ।
फिल्म प्रदर्शन अगाडि नै सार्वजनिक ‘झुम्का कानैमा’ गीत र टिजरले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाउँदै दर्शकमाझ चासो र चर्चा बटुल्न सफल भएका छन् । दर्शक प्रतिक्रियाले सौगात मल्ल र बेनिशा हमालको जोडीलाई पर्दामा पुनः देख्ने उत्सुकता झल्काएको छ । विशेषगरी टिजरले सौगात-बेनिशाको केमेस्ट्रीलाई लिएर सकारात्मक प्रतिक्रिया पाएको छ, जसले ‘झ्यानाकुटी’पछि दर्शकले यो जोडी फेरि पर्दामा हेर्ने चाहना बढाएको देखिन्छ ।
निर्देशक राजबहादुर साने र निर्माता भुगोल कार्की तथा विकासराज जोशी पनि टिजर र गीतबाट पाएको उत्साहजनक प्रतिक्रिया पछि अझ उत्कृष्ट गीत र ट्रेलर ल्याउने तयारीमा जुटेका छन् । उनीहरूको विश्वास छ, ‘सिटामोल’ले दर्शकको भावनालाई छुने गहिरो फिल्मी अनुभव दिनेछ ।
@parikalanewsofficial
‘सिटामोल’ केवल मनोरञ्जनमा सीमित छैन । निर्देशक र निर्माताको भनाइ अनुसार, यो फिल्मले नेपाली समाजमा गढिएको परम्परागत कुसंस्कारको चिरफार गर्दै बिम्बात्मक नेपालको कथा दर्शकसामु ल्याउने प्रयास गरेको छ । आम जनजीवनको प्रतिनिधित्व गर्ने कथा, सशक्त अभिनय र प्राविधिक पक्षको संयोजनले फिल्मलाई विशेष बनाउने दाबी गरिएको छ ।
कलाकारहरूको रूपमा सौगात मल्ल, बेनिशा हमालसँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा (दुईजनैको यो डेब्यु सिनेमा हो), लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायत दर्जनभन्दा बढी कलाकारको सहभागिता रहेको छ । बालकलाकारहरू करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीले पनि महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
फिल्मको कथा प्रदीप भट्टराज र निर्देशक सानेको लेखन हो । तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्ममा सिमोस सुनुवारको प्रस्तुति छ भने बाबुल गिरी (संगीत), कविराज गहतराज (कोरियोग्राफी), देव–शंकर महर्जन (द्वन्द्व), बन्दे प्रसाद (सम्पादन), दिव्य सुवेदी (क्यामेरापर्सन) लगायत अनुभवी प्राविधिक टिमले फिल्मको गुणस्तर उचो बनाउने प्रयास गरेका छन् ।














Discussion about this post