इटहरी/ पर्दामा मात्रै होइन, अब पर्दापछाडिका कथाहरू पनि सार्वजनिक गर्ने तयारीमा छन् गायक दीपक बज्राचार्य । दुई दशकभन्दा लामो समय संगीतको संसारमा समर्पित रहेर दर्शक–स्रोतालाई मन्त्रमुग्ध बनाएका बज्राचार्यले अब ‘प्रोजेक्ट नजिक’ नामक पोडकास्ट श्रंखलामार्फत नयाँ यात्राको सुरूवात गर्न लागेका हुन् ।
यस श्रंखलामार्फत उनले समाजका ओझेलमा परेका तर प्रभावशाली व्यक्तित्वहरूका जीवनकथा, अनुभव र योगदानलाई नजिकबाट दर्शकसामु ल्याउने उद्देश्य लिएका छन् । मंगलबार बेलुकी ८ बजेबाट एपिवान टेलिभिजनमा प्रसारण हुने ‘प्रोजेक्ट नजिक’ मा गायक बज्राचार्य स्वयंले संवाददाताको भूमिकामा देखिनेछन् ।
कार्यक्रमको सार्वजनीक गरिएको प्रोमोमा लोकगायक कुमार बस्नेत, संचारकर्मी प्रकाश सुवेदी, नेपालका पहिलो ड्रमर देव राना, र १९७४ एडीका गिटारिस्ट मनोज केसीजस्ता सांगीतिक र स्रजनात्मक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूका झलकहरू देखाइएको छ । बज्राचार्यका अनुसार यो पोडकास्ट केवल एक मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई, समाजमा लुकेर बसेका असल पात्र र परम्परागत नेपाली बाजा जस्ता विषयहरूलाई पुनः उजागर गर्ने अभियान पनि हो ।
उनका अनुसार ‘प्रोजेक्ट नजिक’ आत्मीयता, समझदारी र संवेदनशील संवादको माध्यम बन्नेछ ।एपिवान टेलिभिजनमा प्रशारण भएपछि यसका सम्पूर्ण इपिसोडहरू गायक बज्राचार्यकै युट्युब च्यानल ‘डी प्रोडक्सन’ मा पनि हेर्न सकिनेछ । कार्यक्रमले नेपाली संगीत, संस्कृति र समाजसँग अझ घनिष्ट सम्बन्ध गाँस्ने अपेक्षा गरिएको छ ।














Discussion about this post