इटहरी/ देउकी प्रथाको गहिरो कथावस्तुमा आधारित फिल्म ‘मोहर’ साउन २३ गतेबाट देशभर रिलिज हुने तयारीमा छ । फिल्मको प्रचार–प्रसारको क्रमसँगै निर्माण टिमले सोमबार दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरेको छ । यस गीतमा एसडी योगी र विज्ञानी पराजुलीको सुमधुर स्वर, हर्क साउदको मार्मिक शब्द र एसडी योगीकै संगीत समावेश छ ।
गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले एक-अर्कासँग छमछमी नाचेको दृश्यले गीतलाई झन् जीवन्त बनाएको छ । भिडियोमा देखिएको उनीहरूको हल्का नोकझोक र गहिरो भावनात्मक केमेस्ट्रीले फिल्ममा उनीहरूको सम्बन्ध कस्तो रहनेछ भन्ने संकेत पनि दिएको छ । हेर्नुस् भिडियो ।
गीतको भिडियोलाई कोरियोग्राफ गरेका छन् चर्चित नृत्य निर्देशक कविराज गहतराजले । यसअघि सार्वजनिक भएको टाइटल गीतमा पल शाह र नीति शाहको जोडी देखिएको थियो, तर यो नयाँ गीतमा पल फरक अवतारमा-लामो कपालसहित देखिएका छन् । गीतमा फिल्मकी वरिष्ठ कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मा लगायतलाई पनि फिचर गरिएको छ ।
@parikalanewsofficial
फिल्म मेकर्स प्रा.लि.को व्यानरमा बनेको ‘मोहर’ का निर्माता चुम्बन जंग शाही हुन् भने अर्जुन जंग शाही, रवीन्द्र झा र लक्ष्मी गिरीको पनि फिल्ममा विशेष भूमिका रहेको छ । फिल्मको छायांकन दिपेन बस्न्यातले गरेका छन्, एक्सन निर्देशन कुमार महर्जनले गरेका छन् भने संगीत संयोजनमा सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतम रहेका छन् । पहिले नै सार्वजनिक भएको टिजरले दर्शकबाट अत्यन्त राम्रो प्रतिक्रिया पाइरहेको फिल्म ‘मोहर’ ले नेपाली समाजको एक संवेदनशील विषय उठाउँदै मनोरञ्जनसहित सन्देश दिने प्रयास गरेको छ ।














Discussion about this post