इटहरी/ नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले पोस्टर सार्वजनिक गर्ने तरिकामा नयाँ इतिहास कोर्ने तयारी गरेको छ । आज आइतबार काठमाडौंमा विशेष समारोहका बीच यो फिल्मको पोस्टर सार्वजनिक हुँदै छ । यो सहित कोशी प्रदेशको प्रमुख शहर इटहरी, धरान, विराटनगर, विर्तामोड लगायत देशभरका १२ स्थानमा एकैपटक पोस्टर रिलिज कार्यक्रम हुँदैछ, जुन नेपाली फिल्म इतिहासमै सम्भवतः पहिलो पटक हो ।
धरानको फ्रेन्ड्स सिनेमा, इटहरीको ईलाइट, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स र विर्तामोडको क्यूएफएक्समा दिउँसो २:४५ बजेबाट सुरु हुने यो कार्यक्रम काठमाडौंमा हुने मुख्य कार्यक्रममा प्रत्यक्ष प्रसारण गरिने निर्माता विमल न्यौपानेले जानकारी गराए । काठमाण्डौमा आईप्लेक्स मलको वान सिनेमाजमा कार्यक्रम तय गरिएको छ । यस्तै, दाङ, नेपालगन्ज, पोखरा, बुटवल लगायतका ठाउँहरुमा पनि एकै समयमा कार्यक्रम हुँदैछ ।
फिल्मका निर्माता विमल न्यौपानेले देशव्यापी रुपमा एकैसाथ आयोजना गरिएको यो प्रचार अभियानलाई ‘नेपाली फिल्ममा फरक र नयाँ प्रयोग’का रूपमा प्रस्तुत गरेका छन् । फिल्मका एसोसिएट निर्देशक मनिष राउतका अनुसार, ‘जनै हराएको मान्छे’ नेपाली आम परिवारको भावना, सम्बन्ध र पीडालाई चित्रण गर्ने कथावस्तुमा आधारित भएकाले यसको प्रचारशैली पनि जनभावनासँग नजिक हुनेगरी तय गरिएको हो । उनका अनुसार, “यो हरेक नेपाली आमाबुबाको कथाजस्तै छ, त्यसैले हामीले सबै क्षेत्रमा यसको उपस्थिति पुर्याउन खोजेका हौं।”
@parikalanewsofficial
कमल न्यौपाने र विमल न्यौपानेको निर्माणमा बनेको फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा, सुशांक मैनाली, भावना खपांगी मगर, रियर राई, सुमन थापा र रुपेश लामाले अभिनय गरेका छन् । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि अभिनेता विजय बराल मुख्य भूमिकामा देखिन लागेको अर्को फिल्म यही नै हो ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने निर्देशन टिममा मुख्य सहायक निर्देशक दिनेशबहादुर राउतसहित तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी रहेका छन् । नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेम्याटोग्राफी तथा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्म काफिया फिल्म्समार्फत गोविन्द शाहीले वितरण गर्दैछन् । सामाजिक सम्बन्ध, पारिवारिक भावना र नेपालीपनको गहिरो चित्रण समेटिएको यो फिल्म २०८२ सालको बहुप्रतिक्षित फिल्ममध्ये एक हो ।
Discussion about this post