इटहरी/ नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक, गीतकार तथा संगीतकार सज्जन राज वैद्यको नयाँ गीत ‘बेहुली’ सार्वजनिक भएको छ । यो गीत सजनको सिग्नेचर शैलीमा तयार पारिएको छ । यो गीत सार्वजनीक भएको केही घण्टामै युट्युब ट्रेण्डिङ समेत देखिएको छ । यो समाचार तयार गर्दैगर्दा भिडियो सार्वजनिक भएको ४ घण्टामै युट्युब ट्रेण्डिङको म्युजिक क्याटोगरी अन्तर्गत ट्रेण्डिङ को १५ औँ स्थानमा रहेको छ । सार्वजनीक गीत सुन्दा उनको यसअघिका हिट गीतको फ्लेभर आउँछ ।
वैद्यले नै यस गीतलाई लेखेका हुन् भने संगीत र स्वर समेत उनकै रहेको छ । सार्वजनीक गीतमा सारङ्गीको धुनले विशेष मिठास थपेको छ, जसलाई मनीष गन्धर्वले तयार गरेका हुन् । यो गीतको मिक्सिङ र मास्टरिङ दिवास गुरुङले गरेका छन् । ‘बेहुली’ गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । भिडियोमा मुख्य कलाकारको रुपमा गायक सज्जन राज वैद्य स्वयं र दिव्या रायमाझी फिचर्ड छन् । हेर्नुस् भिडियो ।
उनीहरुको अन-स्क्रिन केमेस्ट्रीले गीतको भावलाई अझ गहिरो बनाएको छ । यस्तै पछिल्लो समय सामाजिक संजालमा “तँ पागल हो” भनेर अत्याधिक भाइरल बनेका युवा पनि देखिएका छन् । भिडियोमा शशांक बोहरा, ऋषिकेश बस्याल, श्रीशेष मानन्धर, सरिता मानन्धर, देव नारायण भण्डारी, हुमा देवी भण्डारी, घनश्याम जोशी र सञ्जीव तामाङले सहायक कलाकारको रुपमा अभिनय गरेका छन् । यो भिडियोको निर्देशन र छायांकन नयन राईले गरेका हुन् ।
उनले भिडियोलाई कलात्मक र भावनात्मक रुपमा सुन्दर बनाएका छन् । भिडियोमा वैद्यले दिव्यालाई उनको परिवार माझ आफ्नो बेहुली बनाउन गरेको विभिन्न शैलीको प्रयासलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । विभिन्न प्रयासका वावजुद अन्ततः सबैको मन जितेर वैद्यले दिव्यालाई आफ्नो बेहुली बनाउन सफल हुन्छ । भिडियोमा समावेश नृत्यलाई कृतिका बरालले कोरियोग्राफी गरेकी छिन् । अशोक अधिकारीले भिडियो सम्पादन गरेका छन् भने यो प्रोजेक्ट स्टेलर स्टुडियोजको प्रोडक्सन हाउस अन्तर्गत निर्माण भएको हो ।
@parikalanewsofficial
Discussion about this post