इटहरी/ दयाहाङ राई र प्रकाश सपूत एकसाथ मुख्य भूमिकामा देखिने फिल्म ‘मिरमिरे’को छायांकन आज शनिबारबाट सुरु गरिएको छ । काभ्रेपलाञ्चोकस्थित पनौती नगरपालिका–११ को श्री लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै फिल्मको छायांकन औपचारिक रूपमा सुरु गरिएको हो । छायांकन सुरु गर्नुअघि निर्माण टिम एक हप्तासम्म वर्कसपमा सहभागी भएको थियो ।
निर्देशक यम शेर्पाका अनुसार फिल्मको अधिकांश दृश्य काभ्रेका विभिन्न रमणीय स्थलमा खिचिनेछ र छायांकनलाई करिब ३५ दिनमा सम्पन्न गर्ने लक्ष्य छ । ‘यार्सा फिल्म्स’को प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन् । साथमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा जस्ता कलाकारको समेत अभिनय रहनेछ ।
बालकलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको सहभागिता रहेको छ । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो भने निर्देशक यम शेर्पासँग दयाहाङले यसअघि ‘कार्साङ’मा पनि काम गरिसकेका छन् । ‘मिरमिरे’को कथा तथा निर्देशन यम शेर्पाले स्वयं सम्हालेका छन् भने छायांकनको जिम्मा आलोक शुक्लाले लिएका छन् ।फिल्मको निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा रहेका छन् ।
@parikalanewsofficial
सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन् । सुदिप कुँवर मुख्य सहायक निर्देशकको भूमिकामा छन् भने सञ्जु थलाङ लिम्बुले मेकअप सम्हाल्नेछन् । दिलीप पन्त निर्माण नियन्त्रकको रूपमा रहेका छन् । ‘मिरमिरे’ २०८२ सालमा प्रदर्शनमा आउने तयारीमा छ । यद्यपि, रिलिज मिति अझ तय गरिएको छैन । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।
Discussion about this post