इटहरी/ एकसमय सामाजिक सञ्जालमा भाइरल बनेकी ‘गुराँस नानी’ अब म्युजिक भिडियोमार्फत दर्शकमाझ आउने भएकी छन् । गायक दुर्गेश थापा र सिसन बानियाँको सहकार्यमा तयार भएको नयाँ गीत ‘जाने भए जाम माया, घुमेर आम माया’ को छायांकन हालै सम्पन्न भएको छ । सुरुमा दुर्गेश र सिसनको सहकार्यको चर्चा चुलिएको थियो । तर, गुराँस नानीको इन्ट्रीले भिडियोको प्रतीक्षा अझै रोचक बनाएको छ ।
हालै निर्माण टिमले सार्वजनिक गरेका तस्बिरहरूमा दुर्गेश, सिसन र गुराँसलाई खेतमा हिलोले लतपतिएको देख्न सकिन्छ । यस्तै दुर्गेश र सिसनले लगाएको सर्टमा गुराँस फूल देखिएकाले गुराँस नानीको भूमिका केन्द्रमा रहेको अनुमान गर्न सकिन्छ ।
यस गीतमा अर्का एक आकर्षक अनुहार पनि जोडिएका छन्, अन्तर्राष्ट्रिय फुटबल खेलाडी गेरो । उनी भिडियोमा देखिने भए पनि हालसम्म उनलाई गोप्य राखिएको छ ।
दुर्गेशका अनुसार गेरोको उपस्थिति भिडियोको विशेष आकर्षण बन्नेछ । शिव विकको निर्देशन, हरी हुमागाईंको छायांकन, वसन्त थापा र दुर्गेश थापाको शब्द तथा दुर्गेशकै संगीत र एरेन्ज रहेको यो गीत डान्सिङ शैलीमा तयार पारिएको हो । पर्व विशेष गीतहरूमा रुचि राख्ने दुर्गेश भन्छन् “यो गीत भने कुनै चाड पर्व लक्षित छैन, केवल दर्शकलाई रमाइलो दिन बनाइएको हो।”
गीतको भिडियो एक साताभित्र सार्वजनिक गर्ने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।
@parikalanewsofficial
Discussion about this post