इटहरी/ नेपाली सांगीतिक क्षेत्रमा कुनै समय चर्चाको शिखरमा रहेका कलाकार निराजन प्रधान पुन दर्शकमाझ फर्किएका छन् तर यसपटक फरक भूमिकामा। अभिनयले दर्शकको मन जितेका प्रधान अब निर्देशनमार्फत नयाँ यात्राको सुरुआत गरेका छन्।
उनको निर्देशनमा निर्माण गरिएको पहिलो म्युजिक भिडियो ‘माया बस्यो’ हालै सार्वजनिक भएको छ। सुगम पोखरेल र समीक्षा अधिकारी को सुमधुर स्वरले सजिएको यस गीतमा केकी अधिकारी र राघव दाहाल ले अभिनय गरेका छन्। फोटो कथाको ढाँचामा तयार पारिएको यो भिडियो प्रेमभाव र जीवनका आरोह-अवरोहको कथालाई कलात्मक शैलीमा प्रस्तुत गर्छ।
गीतकार सरगम घतान ले लेखेको र संगीतकार योगेश काजी शाह ले संगीतबद्ध गरेको यस गीतमा अनुहार देख्नासाथ प्रेम बस्ने अनुभूतिबाट सुरु भइ, आत्मीयता र जीवन समर्पणसम्मको प्रेम यात्राको चित्रण गरिएको छ। गीतमा एकअर्काको आनीबानीको खुलेर प्रशंसा गरिएको छ भने प्रेमको गहिराइ र स्थायीत्वलाई उजागर गरिएको छ।मनोज परियार द्वारा मिक्सिङ र मास्टरिङ गरिएको गीतको भिडियोमा अर्जुन तिवारी को सिनेमाटोग्राफी, सुरेश काफ्ले को ड्रोन क्यामेरा, प्रवीन श्रेष्ठ को सम्पादन तथा रंग संयोजन र रोशन विश्वकर्मा को कोरियोग्राफी रहेको छ।
निराजन प्रधानको करियरको सुरुवात म्युजिक भिडियोमार्फत नै भएको थियो। अभिनयमा व्यापक सफलताको अनुभूति गरेका उनले केहि फिल्ममा समेत अभिनय गरेका छन्। निर्देशन गर्ने सोच भने पहिले देखिनै बोकेका प्रधान भन्छन्, “सधैं निर्देशनको रहर थियो, अब त्यसलाई मूर्तरूप दिन पाएँ। दर्शकले जस्तो माया अभिनयमा दिनुभयो, त्यस्तै निर्देशनमा पनि अपेक्षा राखेको छु।”
@parikalanewsofficial
सनुस्का दाहाल निर्मात्री रहेको यो भिडियो सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेस को सहकार्यमा तयार पारिएको हो।निराजनको यो निर्देशन यात्रा सफल रहोस् भन्ने शुभेच्छासहित, ‘माया बस्यो’ नेपाली म्युजिक भिडियोको दृश्य, ध्वनि र भावनात्मक प्रस्तुतिको दृष्टिले पनि एक सशक्त कोसिस हो भन्ने आँकलन गर्न सकिन्छ।
Discussion about this post