इटहरी/ नेपाली फिल्मले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ। यसैको पछिल्लो उदाहरणका रूपमा, फिल्म ‘आँखा’ ले इटालीको प्रतिष्ठित अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्ट फिल्म फेस्टिभल मा दुई महत्वपूर्ण अवार्ड जितेको छ। हरेक वर्ष आयोजना हुने यो २९औँ संस्करणको फेस्टिभलमा फिल्मले उत्कृष्ट ड्रामा र उत्कृष्ट अभिनेत्री विधामा अवार्ड जित्न सफल भएको निर्देशक जोन योन्जनले बताएका छन्। यी अवार्डहरू आगामी सेप्टेम्बरमा वितरण गरिनेछन्।
फिल्मकी प्रमुख अभिनेत्री स्मिता लामिछानेले उत्कृष्ट अभिनेत्री को अवार्ड जितेकी छिन्। यो फिल्मले नेपालका विभिन्न फेस्टिभलमा पनि प्रशंसा बटुलिसकेको थियो। यद्यपि, यसको सार्वजनिक प्रदर्शन प्राकृतिक विपत्तिको समयमा परेकाले व्यावसायिक रूपमा सफल हुन सकेको थिएन।

विजय बराल, स्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, आरके मेहता, पशुपति राई लगायतका प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको यो फिल्मको अन्तर्राष्ट्रिय सफलताले नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा थपेको छ।निर्देशक योन्जनले यो जित आफ्नो टिमको मात्र नभएर समग्र नेपाली फिल्म क्षेत्रको गौरव भएको बताएका छन्। “नेपाली कथा, अभिनय र सिर्जनाले अन्तर्राष्ट्रिय स्तरमा कदर पाउनु हामी सबैका लागि गर्वको कुरा हो,” उनले भने।
@parikalanewsofficial













