इटहरी/ नेपाली फिल्म उद्योगको ६ दशकभन्दा लामो यात्रा अहिले एउटा रोचक मोडमा आइपुगेको छ। समयसँगै शैली, स्वाद र सम्भावनाहरू परिवर्तन हुँदै गर्दा दर्शकको रोजाइ पनि फेरिएको छ। यसैबीच, चलचित्र विकास बोर्डले पहिलोपटक सर्वाधिक कमाइ गरेका २५ नेपाली फिल्मको औपचारिक सूची सार्वजनिक गर्दै ऐतिहासिक दस्तावेज प्रस्तुत गरेको छ।
विसं २०२१ मा प्रदर्शन भएको पहिलो नेपाली फिल्म ‘आमा’ बाट सुरु भएको यो यात्रा आजसम्म आइपुग्दा हजारौं फिल्मले पर्दामा आफ्नो उपस्थितिको इतिहास कोरेका छन्।‘माइतीघर’, ‘कुसुमे रुमाल’, ‘चिनो’, ‘देउता’, ‘आगो’, ‘मुगलान’ जस्ता फिल्महरूले आफ्ना समयमा दर्शकको मन जित्दै हल हाउसफुल बनाएका थिए। तर त्यसबेलाको बक्स अफिस नापतौलको अभावले यी फिल्म हाल सार्वजनिक सूचीमा समेटिन सकेनन्।यद्यपि, यिनको ऐतिहासिक महत्त्व र सांस्कृतिक प्रभाव अतुलनीय छ। यस्तै, ‘नुमाफुङ’ वा ‘शाम्बाला’ जस्ता कलात्मक फिल्महरूले नेपाली सिनेमालाई गहिरो वैचारिक धरातल प्रदान गरेका छन्।
चलचित्र विकास बोर्डको हालैको बक्स अफिस तथ्यांकअनुसार फिल्म , ‘पूर्णबहादुरको सारंगी’ ले नेपाली फिल्म उद्योगको कमाइको शिखरमा उभिएको छ।यो फिल्मले १७ लाखभन्दा बढी टिकट बिक्री गर्दै ४६ करोड ८७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेर कीर्तिमान कायम गरेको छ।दोस्रो स्थानमा रहेको ‘कबड्डी ४’ ले २१ करोड ४० लाख रुपैयाँको व्यापार गर्यो भने तेस्रो स्थानमा रहेको ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख रुपैयाँको आम्दानी गर्न सफल भयो। चौथो स्थानमा ‘छक्का पन्जा ४’ ले १७ करोड ५३ लाख, पाँचौँमा ‘जारी’ ले १७ करोड ४७ लाख, र छैटौँ स्थानमा रहेको ‘छक्का पन्जा १’ ले १६ करोड १० लाख रुपैयाँ कमाइ गर्यो। यसैगरी, सातौँ स्थानमा ‘महाजात्रा’ १५ करोड ६७ लाखसहित उभिएको छ भने आठौँमा ‘छक्का पन्जा ५’ ले १५ करोड २० लाख कमाएको छ। ‘कोहीनुर’ १४ करोड ७५ लाखसहित नवौँ स्थानमा छ भने ‘छक्का पन्जा २’ १४ करोड ५१ लाख रुपैयाँ कमाउँदै दशौँ स्थानमा समेटिएको छ।
यो सूचीले स्पष्ट रूपमा देखाउँछ पछिल्ला वर्षहरूमा सामाजिक व्यंग्य, ग्रामीण कथा, हास्य शृंखला र वास्तविकता नजिकका विषयवस्तु दर्शकको रोजाइमा छन्।छक्का पन्जा फ्रेन्चाइजको उच्च स्थानले व्यावसायिक दृष्टिले त्यसको प्रभावलाई प्रमाणित गरेको छ भने, ‘पूर्णबहादुरको सारंगी’ जस्तो नयाँ फिल्मको अग्रस्थानले नयाँ प्रयोग सफल हुन सक्ने सम्भावना देखाएको छ।यो सूचीले केवल रकम मात्र होइन, नेपाली फिल्मको बदलिँदो स्वरूप, दर्शकको स्वाद, र सफलताको नापदण्ड पनि देखाएको छ।
@parikalanewsofficial

अल टाइम ब्लकबस्टर १० नेपाली फिल्म
पूर्णबहादुरको सारङ्गी – ४६ करोड ८७ लाख ४१ हजार
कबड्डी–४ – २१ करोड ४० लाख
१२ गाउँ – १९ करोड ९२ लाख
छक्का पञ्जा ४ – १७ करोड ५३ लाख
जारी – १७ करोड ४७
पञ्जा १ – १६ करोड १० लाख
महाजात्रा – १५ करोड ६७ लाख
छक्का पञ्जा ५ – १५ करोड २०
कोहिनुर – १४ करोड ७५
छक्का पञ्जा २ – १४ करोड ५१ लाख
शत्रुगते – १२ करोड ६५ लाख
ऊनको स्वीटर – १० करोड ६२ लाख
कबड्डी २ – १० करोड ३५ लाख
बोक्सीको घर – १० करोड १० लाख
छ माया छपक्कै – ९ करोड ९२ लाख
दिमाग खराब – ८ करोड ९८ लाख
अन्जिला – ८ करोड ८३ लाख
परदेशी २ – ६ करोड ९२ लाख
छक्का पन्जा ३ – ७ करोड ८३ लाख
प्रेमगीत ३ – ७ करोड ६३ लाख
कबड्डी ३ – ७ करोड ५९ लाख
पुजार सार्की – ७ करोड ३८ लाख
महापुरुष – ७ करोड ३५ लाख
कबड्डी – ७ करोड ३४ लाख
पशुपतिप्रसाद २: भष्मे डन – ७ करोड ३२ लाख













