इटहरी/ नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता जीवन लुइँटेल अब फिल्मी पर्दाबाट रंगमञ्चतिर मोडिने भएका छन् । लामो समयदेखि अमेरिका बसोबास गरिरहेका लुइँटेलले रंगमञ्चमार्फत अभिनयमा फर्किने निर्णय गरेका छन् । कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको बहुप्रतीक्षित नाटक ‘शिरिषको फूल’ मा उनी प्रमुख पात्र सुयोगवीरको भूमिकामा देखिँदैछन् ।
साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यो नाटकले लुइँटेलको कमब्याकलाई थप विशेष बनाएको छ । नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले गरिरहेकी छन् । नाटककै तयारीका लागि लुइँटेल छिट्टै नेपाल आउने भएका छन् । कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सिईओ प्रकाश पुरीका अनुसार अनुभवी र परिपक्व पात्र खोजिरहेका बेला लुइँटेललाई प्रस्ताव गरिएको हो ।

“हामीलाई साहित्य बुझ्ने र अभिनयमा गहिरो अनुभूति दिन सक्ने पात्र चाहिएको थियो,” पुरीले भने । हालसम्म प्रमुख महिला पात्र सकम्बरी को भूमिकामा को देखिने भन्नेबारेमा खुलाइएको छैन । जीवनको कमब्याकसँगै अब सबैको ध्यान सकम्बरीमा केन्द्रित भएको छ । गत महिना रेखा थापा अभिनीत नाटक ‘मीरा’ मार्फत चर्चा कमाएको कान्तिपुर थिएटरले अब ‘शिरिषको फूल’ लाई अर्को महत्वपूर्ण प्रस्तुति बनाउने तयारी गरिरहेको छ ।
@parikalanewsofficial
















Discussion about this post