इटहरी/ नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक रामकृष्ण ढकाल अब निर्माता बनेर फिल्म ‘मालती मंगले’ लिएर आउने भएका छन् । उनले निर्माण गर्न लागेको यो पारिवारिक प्रेमकथामा आधारित फिल्ममा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा अनुबन्धित भएका छन् । शुक्रवार एक औपचारिक सम्झौतामार्फत ढकालले बराल र राउतलाई अनुबन्ध गरे ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा बन्ने फिल्मको निर्देशन प्रकु पाण्डेयले गर्नेछन् । पटकथा र संवाद संयोग गुरागाईँले लेखेका छन् भने कथा निर्देशक पाण्डेय स्वयंले तयार पारेका हुन् । कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार फिल्मको छायाङ्कन भदौको पहिलो सातादेखि सुरु हुनेछ, जसका लागि करिब ४० दिनको तालिका तयार गरिएको छ । उनले ‘मालती मंगले’ यही वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने योजना रहेको पनि बताएका छन् ।

फिल्मको प्राविधिक पक्षमा अनुभवी नामहरु जोडिएका छन् । महेश पौडेल छायाङ्कन, रोमी तण्डुकार सम्पादक, कृष्ण भण्डारी रंग संयोजक, राजेन्द्र थापा गीतकार तथा राजनराज सिवाकोटी संगीतकारका रूपमा रहनेछन् । पोस्टर डिजाइन विजय बस्यालले गर्नेछन् । निर्देशक पाण्डेयले फिल्मको कथावस्तु पारिवारिक प्रेम सम्बन्धमा आधारित भएको बताएका छन् ।
@parikalanewsofficial
यद्यपि, उनले हालै अनुबन्ध भएका कलाकार विजय बराल र वर्षा राउतको भूमिकाबारे अझै गोप्य राख्ने बताएका छन् । विशेष कुरा के छ भने यी दुई कलाकारले ‘मालती मंगले’का लागि आगामी ३ महिना अन्य कुनै फिल्ममा काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।
यो समय उनीहरूले आफ्ना पात्रप्रति गहिरो तयारीका लागि छुट्याउनेछन् । ‘मालती मंगले’ निर्माता रामकृष्ण ढकालका लागि फिल्म क्षेत्र नयाँ भने होइन । उनले सन् २००१ मा ‘आशीर्वाद’ नामक फिल्ममा अभिनय गरेका थिए, जुन फिल्म उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । तर यसपटक उनी निर्माता बनेर ठूलो पर्दामा फर्किंदैछन् ।















Discussion about this post