इटहरी/ नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा केन्द्रित नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर शुक्रबार काठमाण्डौंमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ । साहित्यकार तथा निर्देशक मित्र प्रधानको निर्देशनमा तयार भएको यस फिल्मको ट्रेलरले नेपाली भाषा, यसको ऐतिहासिक महत्व, कला, साहित्य र संस्कारलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ ।
निर्देशक प्रधानले यो फिल्म नयाँ पुस्तालाई मातृभाषा र संस्कृति प्रतिको माया जगाउने उद्देश्यले निर्माण गरिएको जानकारी दिए । उनले भने, “यो फिल्म हाम्रो भाषा र संस्कारको संरक्षणका लागि सन्देश दिन चाहन्छ ।”
फिल्मका निर्माता तथा प्रमुख कलाकार रोशन श्रेष्ठले ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपालीले हेर्नैपर्ने फिल्म भएको बताए । अभिनेता विजय बरालले फिल्मले भाषा र कलालाई गहिरोसँग जोडेको धारणा राखे भने कलाकार विल्सन विक्रम राईले आफूले कथासँग मेल खाने गीत लेखेको उल्लेख गर्दै फिल्म निकै नजिकबाट अनुभूत गरिएको बताए । फिल्मकी नायिका आयुषा समालले विदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन गरेको प्रयास फिल्मको भावनासँग मेल खाने बताइन् । हेर्नुस् ट्रेलर।
असार २७ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायत कलाकारको अभिनय रहेको छ । इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा ज्ञान बहादुर प्रधान (रोशन) को निर्माण र मित्र प्रधानको प्रस्तुति तथा निर्देशन रहेको यो फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ ।
सिनेमाटोग्राफी सौरभ लामाले, द्वन्द्व निर्देशन देव महर्जनले, भिएफएक्स समिर मियाले, कोरियोग्राफी कविराज गहतराज र प्रमोद भण्डारीले गरेका छन् भने सम्पादन बनिश शाहले गरेका हुन् । फिल्ममा संगीत दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको रहेको छ । शब्दहरू दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल र खैजडी गीतका लागि अनिश अधिकारीले लेखेका छन् । यो मन त मेरो नेपाली हो’ लाई आरआर फिल्म्सले वितरण गर्दैछ ।
@parikalanewsofficial
Discussion about this post