इटहरी/ सस्पेन्स, रहस्य र मनोवैज्ञानिक उतारचढावको कथा बोकेको नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ को छायांकन कार्य सम्पन्न भएको छ । जेठ २२ गतेबाट छायांकन सुरु गरिएको फिल्म २५ दिनको निरन्तर सुटिङपछि इन्डकल्याप भएको हो । काठमाण्डौ भित्रका विभिन्न लोकेसनमा खिचिएको फिल्मले नेपाली फिल्म जगतमा फरक स्वाद ल्याउने दाबी गरिएको छ ।
फिल्मको निर्देशन बलिराम चौहानले गरेका हुन्, जो यसअघि चर्चित फिल्म ‘बलिदान’मा लेखक र मुख्य सहायक निर्देशकको रूपमा सक्रिय थिए । ‘द ब्ल्यू लाइट’मार्फत उनले निर्देशनमा डेब्यु गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ ।
बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहार शर्मा समावेश छन् । फिल्मको थिम पोस्टर तथा फर्स्टलुक यसअघि नै सार्वजनिक भइसकेका छन् । थिम पोस्टरमा निलो प्रकाशको घेराभित्र उभिएकी एक बालिकाले फिल्मको मनोवैज्ञानिक स्वरूपको झलक दिएको थियो । त्यस्तै, सुटिङकै क्रममा सार्वजनिक गरिएको अर्को पोस्टरमा बेनिशा हमाललाई बारमा तनावग्रस्त मुद्रामा चुरोट च्याप्दै देखाइएको छ ।
@parikalanewsofficial
यद्यपि फिल्मको कथा र पात्रहरूको भूमिकाबारे निर्माणपक्षले औपचारिक खुलासा गरिसकेको छैन । निर्देशक चौहानले भने, “हामीले जे बनाउन खोजेका थियौं, त्यसमा सफल भयौं । अब पोस्ट-प्रोडक्सन अघि बढ्छ । कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ र दर्शकलाई उत्कृष्ट फिल्मी अनुभव दिन्छौं भन्नेमा हामी विश्वस्त छौं ।”
फिल्मका को–प्रोड्युसर रमन ग्रे, कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहेका छन् । छायांकन मैनालीकै छ भने मुख्य सहायक निर्देशक आकाश उखेडा, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रदर्शनमा आउने निर्देशक चौहानले जनाएका छन् ।















Discussion about this post