इटहरी/ वैदेशिक रोजगारीमा जाने नेपालीहरूको पीडा बोकेको फिल्म ‘रियाल रिङ्गेट’को ओएसटी गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ । आगामी श्रावण १६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको यो गीत मंगलबार काठमाडौंको आइएनआई सिनेमा, नयाँ बानेश्वरमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो । रेबेल फिल्मसद्वारा निर्माण गरिएको यस फिल्मको गीतमा चन्दन ध्वज केसी र किरण तुलाधरको संगीत, केतन क्षेत्रीको स्वर तथा रवि मल्ल र कोसिस क्षेत्रीको शब्द रहेको छ ।
किरण तुलाधरले नै गीत एरेञ्ज गरेका हुन् । गीतमा विदेशी भूमिमा पसिना बगाउने नेपालीको संघर्ष र तिनको परिवारको बिछोड र पीडा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कार्यक्रममा कवि नाथन रायनले कविता वाचन गरे, जसमा त्रिभुवन विमानस्थलबाट जहाज उड्दा सपना र जिन्दगी सँगै उडेको अनुभूति पोखिएको थियो । “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो” भन्ने ट्यागलाइनले फिल्मको भावनात्मक गहिराइ दर्शायो । हेर्नुस् भिडियो।
त्यस्तै, गायक केतन क्षेत्रीको प्रत्यक्ष प्रस्तुति कार्यक्रमको विशेष आकर्षण बन्यो । निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’ सबै नेपालीको साझा कथा भएको बताउँदै यसले दर्शकको हृदय छुने विश्वास व्यक्त गरे । निर्माता गगनलाल प्रधानले पनि वैदेशिक रोजगारीको संवेदनशील विषय उठाउनु अत्यावश्यक भएकोले फिल्म निर्माणमा हात हालेको बताए । प्रधानले २०३९ सालमा ‘अभिलाषा’ नामक भिडियो फिल्म निर्माण गरेका थिए भने रेबेल क्रियशनमार्फत् दर्जनौँ कलाकार जन्माएका छन् ।
फिल्मका प्रमुख कलाकार निता ढुङ्गानाले लामो मेहनतपछि फिल्म रिलिजको संघारमा पुगेकोमा खुशी व्यक्त गरिन् भने प्रमोद चौलागाईंले गहिरो सोचविचारपछि मात्र फिल्ममा अभिनय गर्न स्वीकार गरेको जनाए । ‘रियाल रिङ्गेट’ मा प्रमोद र निताको अलावा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायतको अभिनय रहेको छ ।
@parikalanewsofficial
प्रदीप भारद्वाजको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन तथा राजीव समरको कोरियोग्राफी फिल्ममा समावेश छ । फिल्मका गीतहरूमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको छ भने संगीत चन्दन ध्वज केसी, किरण तुलाधर र रामचन्द्र काफ्लेले दिएका छन् । गीतका शब्द अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् ।
फिल्मको शीर्षक ‘रियाल रिङ्गेट’ वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुक साउदी, कतार (रियाल) र मलेसिया (रिङ्गेट) को नामबाट बनाइएको हो । छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । वितरणको जिम्मा काफिया फिल्म्सले लिएको छ । कार्यक्रममा भावुक क्षण तब सिर्जना भयो जब निर्माण युनिटले फिल्मकी कलाकार अनिशा सदाको निधनको खबर सार्वजनिक गर्यो । छायाङ्कन स्थलमै अनिशा मृत अवस्थामा फेला परेकी थिइन् । कार्यक्रममा उनलाई श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।















Discussion about this post