इटहरी/ समुद्री सतहबाट नेपालकै होचो भूभाग झापाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको ५१० किलोमिटरको ऐतिहासिक, साहसिक र प्रेरणादायी यात्रालाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा एक कार्यक्रमबीच वृत्तचित्रको ट्रेलर सार्वजनिक भयो ।
यो वृत्तचित्र सञ्चारकर्मी प्रेम बानियाँको अवधारणामा आधारित छ भने निर्देशन निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा गरेका हुन् । कचनकवलदेखि सुरु भएर सगरमाथाको चुचुरोसम्म पुग्ने पदयात्रा समेटिएको यस वृत्तचित्रमा प्रेम बानियाँ आफैंले पहिलो यात्रीका रूपमा यात्रा सुरु गरेका थिए । उनले ५८ मिटर उचाइमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाइ गाउँ बसाल्ने कल्पनासँगै सगरमाथासम्मको यात्रा सुरु गरिएको बताएका छन् । हेर्नुस् ट्रेलर।
यो यात्रामा १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, अमेरिकी आरोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको सहभागिता रहेको छ । वृत्तचित्रमा इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु हुँदै सगरमाथाको शिखरसम्मको बाटोमा पर्ने प्रमुख स्थलहरू, सांस्कृतिक विविधता, भौगोलिक चुनौतीहरू र मानव इच्छाशक्तिको कथा समेटिएको छ ।
प्रेम बानियाँका अनुसार यो केवल एउटा वृत्तचित्र मात्र नभई नेपाल चिनाउने राष्ट्रिय अभियान हो । “मानिसको जीवन पनि शून्यबाट सुरु हुन्छ र बिस्तारै उकालो लाग्दै अगाडि बढ्छ, ठीक त्यस्तै हो यो यात्रा,” उनले भने । निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने सोचले प्रेरित भई वृत्तचित्र निर्माणमा लागेको बताए । उनका अनुसार अमेरिकाबाट सुरु गरेर वृत्तचित्रलाई युरोप, अष्ट्रेलिया, एशिया हुँदै नेपालका हलहरूमा सार्वजनिक गरिने योजना छ ।
@parikalanewsofficial
श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छायाँकार छन् भने सुजन गुरुङ र दोजी शेर्पाले सगरमाथाको शिखरसम्म पुगेर दृश्य खिचेका छन् । सम्पादन तथा छायाँकन निर्देशकद्वय आफैंले गरेका छन् भने प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाहको योगदान रहेको छ । ‘जिरो टु ८८४८’ न केवल नेपाललाई चिनाउने एक सशक्त प्रयास हो, बरु जलवायु परिवर्तन र भूगर्भ पर्यटनका अध्ययनका लागि पनि महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित हुने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ ।
Discussion about this post