इटहरी/ नेपाली फिल्म उद्योगका लोकप्रिय नायक अनमोल केसी नयाँ फिल्म ‘ए मेरो हजुर ५’मा अनुबन्धित भएका छन् । सुहाना थापा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको लागि अनमोलले औपचारिक कागजी सम्झौता गरेका छन् । यो कुराको पुष्टि स्वयं अनमोल केसी ले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट गरेका छन् । ‘ए मेरो हजुर’ सिरिजका अघिल्ला भागहरूले बक्स अफिसमा राम्रो व्यापार गरेकाले यसको पाँचौ श्रृंखला प्रति दर्शकको उत्साह निकै बढेको छ ।
यस फिल्ममा अनमोल केसीको अपोजिटमा सुहाना थापा नै देखिनेछिन् । ‘ए मेरो हजुर’ सिरिजमा अनमोल र सुहानाको जोडीलाई दर्शकले सधैँ रुचाउँदै आएका छन् । यस पटक पनि यो जोडीले पर्दामा कस्तो जादु देखाउँछन् भन्ने कुरा पक्कै हेर्न लायक हुनेछ ।
@parikalanewsofficial
निर्माण पक्षका अनुसार, ‘ए मेरो हजुर ५’ को छायांकन अनमोल केसीको होम प्रोडक्सन ‘बाटुलो जुन’ को छायांकन सकिए लगत्तै सुरु हुनेछ । यद्यपि, ‘बाटुलो जुन’ को छायांकन कहिले सकिन्छ र ‘ए मेरो हजुर ५’ को छायांकन कहिलेबाट सुरु हुन्छ भन्नेबारेमा भने विस्तृत जानकारी आउन बाँकी छ । यस फिल्मलाई झरना थापाले निर्देशन गर्ने सम्भावना प्रबल छ, किनकि उनी यस सिरिजका अघिल्ला भागहरूको पनि निर्देशक रहँदै आएकी छन् ।
अनमोल र सुहानाबाहेक अन्य कलाकारहरू तथा प्राविधिक टीमको बारेमा भने अहिलेसम्म केही खुलाइएको छैन । साथै, फिल्मको प्रदर्शन मिति पनि हालसम्म तय भैसकेको छैन ।
‘ए मेरो हजुर’ सिरिज नेपाली फिल्म उद्योगमा एक सफल सिरिजको रुपमा स्थापित भएको छ । यसको पाँचौ श्रृंखलाले पनि दर्शकको मन जित्न सफल हुने अपेक्षा गरिएको छ ।












Discussion about this post