इटहरी/ केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ अब ‘माग्ने राजा’ बनेर फिल्म हलमा देखिने भएका छन् । उनको यही फरक अवतारसहित फिल्म ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै भदौ ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार काठमाण्डौको प्रज्ञा डबलीमा आयोजित विशेष समारोहमार्फत पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनीक पोस्टरमा एकातर्फ माग्ने बुढालाई राजसी अवतारमा प्रस्तुत गरिएको छ । उनको हात र गलामा र कानमा सुनै सुन देखिन्छ । उनले लगाएको कपडा देखि जुत्ता र बेल्टसम्म सुन कलर अर्थात् पहेंलो कलरको देखिन्छ ।
यस्तै अर्को पोष्टरमा केदार घिमिरेसँगै वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई देखाइएको छ । जहाँ, अग्रभागमा केदार घिमिरे नै रहेका छन् । हास्य, व्यङ्ग्य र सामाजिक यथार्थ मिसिएको यो फिल्मले युवापुस्ताको ‘आफैं राजा बन्ने मनोवृत्ति’लाई चित्रण गर्ने निर्देशक ऋषि लामिछानेले बताएका छन् । ‘माग्ने राजा’मार्फत निर्देशक लामिछाने ८ वर्षपछि निर्देशनमा फर्किएका हुन् ।

यस्तै, निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’पछि पहिलोपटक निर्माणमा फर्किएका छन् । उनी दाङको घोराही उपमहानगरपालिका-४ का वडा अध्यक्ष समेत हुन् । निर्देशक लामिछाने र निर्माता घिमिरेको यो तेस्रो सहकार्य हो । अघिल्ला दुई फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्-श्रीमती’ बक्सअफिसमा सफल भएका थिए । तेस्रो सहकार्य पनि सुपरहिट हुने दाबी कार्यक्रममै गरिएको थियो ।
@parikalanewsofficial
आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटक मोडल पवित्रा साकी (मिस पबी) को अभिनय रहेको छ । यो फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष उपस्थिति रहनेछ । आरआर फिल्मस्ले वितरण गर्ने ‘माग्ने राजा’ मा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा, संवाद तथा दीपक शर्मा र बाबुल गिरीको संगीत समावेश छ ।
















Discussion about this post