इटहरी/ नेपाली भाषा, संस्कृति र पहिचानको गौरव बोकेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ गते अर्थात जुलाई ११ बाट नेपालभर प्रदर्शनमा आउँदैछ । फिल्मको अन्तर्राष्ट्रिय यात्रा अमेरिकी प्रिमियरबाट सुरु भई दर्शकबाट उत्साहजनक साथ पाएको यो फिल्म ‘यो मन त मेरो नेपाली हो’ अब नेपाली दर्शकमाझ आउने तयारीमा छ । यसै सन्दर्भमा, फिल्मका निर्देशक मित्र प्रधान र नायिका आयुषा समाल शनिबार बिहान अमेरिकाबाट नेपाल आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई अभिनेता रोशन श्रेष्ठले स्वागत गरे । निर्देशक प्रधान र समाल दुवै हाल अमेरिकामा बसोबास गर्छन् । निर्देशक प्रधानले अमेरिका भरिका विभिन्न सहरमा दर्शकले दिएको राम्रो साथ र प्रतिक्रियाले थप हौसला मिलेको अनुभव बाँडे । उनले भने, “नेपाली भाषा, साहित्य, कला र हाम्रो पहिचानमाथि केन्द्रित यो फिल्म हरेक नेपालीले हेर्नैपर्छ।”
ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको यस फिल्मका प्रस्तुतकर्ता मित्र प्रधान हुन् भने निर्माण ज्ञानबहादुर प्रधान (रोशन) ले गरेका हुन् । साहित्यकार मित्र प्रधानको निर्देशनमा तयार भएको यस फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन र सत्यम रानाको सिजिआई रहेको छ ।
@parikalanewsofficial
फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ (हैट), आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन (मन्त्री), सुबास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायत कलाकारहरूको अभिनय समावेश छ । यस्तै संगीततर्फ दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको संगीत तथा शब्दमा दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल र अनिश अधिकारी रहेका छन् । ‘यो मन त मेरो नेपाली हो’ नेपाली दर्शकका लागि एउटा आत्मबोधको कथा हो-जसले “हामी को हौं ?” भन्ने प्रश्नमाथि गहिरो विचार गर्न बाध्य बनाउनेछ ।















Discussion about this post