इटहरी/ नेपालीपनको आत्मगौरव र सांस्कृतिक चेतना बोकेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले आफ्नो अन्तर्राष्ट्रिय यात्रा अमेरिका हुँदै सुरु गरेपछि अहिले नेपाली दर्शकबीच पनि चर्चा बटुल्न थालेको छ । नेपाली भाषा, संस्कृति र पहिचानमाथि आधारित यो फिल्म यही असार २७ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ । फिल्म अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्ग सहरहरूमा आयोजित विशेष शोमार्फत प्रवासी नेपालीहरूमाझ प्रस्तुत गरिएको छ ।
पिट्सबर्गमा सोमबार सम्पन्न शोमा दर्शकहरूले फिल्मप्रति गहिरो सम्मान प्रकट गर्दै भने, “हाम्रो पहिचान भुलिँदै गएको बेला, यो फिल्मले फेरि हामीलाई नेपालीपनको मियोमा बाँधेको छ।” ‘नेपाली को हुन्?’ भन्ने मूल प्रश्नलाई केन्द्रमा राख्दै फिल्मले आत्मचिन्तन गराउँछ । कथावस्तु मात्र होइन, प्रस्तुत शैली, संवाद र दृश्यले पनि नेपाली भाषा, इतिहास र गौरवलाई पुनः महसुस गराउने प्रयास गरिएको छ ।
रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ (हैट), आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भण्डारी, बिजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायत कलाकारहरूको अभिनयले फिल्मलाई गहिराइ दिएको छ । मित्र प्रधान (नर) को निर्देशनमा बनेको फिल्म ईश्वर इन्टरटेन्मेन्ट प्रालि को ब्यानरमा तयार गरिएको हो, जसका निर्माता ज्ञानबहादुर प्रधान (रोशन) तथा प्रस्तुतकर्ता पनि मित्र प्रधान नै हुन् ।
@parikalanewsofficial
प्राविधिक पक्षमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन र सत्यम रानाको सिजिआईले फिल्मलाई प्राविधिक रूपमा पनि बलियो बनाएको छ । दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको फिल्ममा शंकर अधिकारी घायल, दिपक शर्मा, विल्सन विक्रम राईका शब्द छन् भने खैजडी गीतमा अनिश अधिकारीको शब्द सुन्न सकिन्छ ।















Discussion about this post